Dhulikhel Eco Banner new

बजेट पुँजीपति वर्गको हितमा आएको सांसद प्रेम सुवालको आरोप

4.41K
shares

काठमाडौं, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेटले पुँजीपति वर्गको मात्र हित गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र वार्षिक व्ययको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै सांसद सुवालले बजेट निरंकुश राणा शासन र निर्दलीय पञ्चायतको सिलसिला जस्तो भएको दावी गरे ।

उनले भने ‘ पुँजीपति वर्गको हितमा बजेट आयो । प्रधानमन्त्री र अर्थमन्त्रीले पुँजीपति वर्गको चिहान खन्ने राजनीतिक शक्ति मजदुर वर्ग नै भएको हेक्का राख्नु भएन । पुँजीपति वर्गको स्वतन्त्रता भनेकै मजदुर वर्गमाथि थिचोमिचो र शोषण गर्ने हो । सरकारको यो बजेट निरंकुश राणा शासन र निर्दलीय पञ्चायतको सिलसिला जस्तै हो । ’

तराईमा पानीको स्रोत बढाउन चुरे संरक्षण गर्न आवश्यक भएको उनको भनाइ छ। । उनले बजेटमा ५ वर्ष महंगी नियन्त्रण गर्ने उल्लेख गर्नुपर्ने बताए ।

सांसद सुवालले सार्वजनिक क्षेत्र कमजोर भए आर्थिक अपराधी माफियाहरुले राजनीति कब्जा गर्ने दावी पनि गरे ।