Dhulikhel Eco Banner new

नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री दाहाल

4.72K
shares

काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने वताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले देशमा अब सांस्कृतिक रुपान्तरण आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले यथास्थितिका सौन्दर्यचेतनाले मात्रै अब नपुग्ने भन्दै नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले नेपालको संविधान २०७२ को मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रबद्र्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औल्याए ।

उनले भने ‘ नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र सफल हुने प्रष्ट पारे । ’