Dhulikhel Eco Banner new

बीमा समितिको निर्देशन विपरित जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा

4.73K
shares

काठमाडौं, १० जेठ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको जेठ ३१ गते साधारण सभा हुुने भएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीको जेठ ६ गतेकै सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । आगामी एक वर्षभित्र बीमा कम्पनीको निर्देशन बमोजिम कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ ।

पूँजी वृद्धि अभियान चलिरहेको अवस्थामा पूँजी वृद्धिका लागि कतिपय कम्पनीहरुले मर्जरको प्रकृया अघि बढाईसकेको अवस्थामा यस कम्पनीले पनि मर्जर तथा प्राप्ति प्रकृयामा जाने संकेत गरेको छ । आगामी दिनमा सो प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछ । साधारण सभाको लागि हकप्रदको प्रस्ताव रहेपनि बुक क्लोजको मिति भने हकप्रदको हकमा लागू हुने छैन ।