Dhulikhel Eco Banner new

प्रवासी नेपालीले छिट्टै मतदानको अधिकार प्रयोग गर्न पाउने एनआरएनएको विश्वास

8.66K
shares

काठमाडौं, ११ जेठ । प्रवासी नेपालीले छिट्टै मतदानको अधिकार प्रयोग गर्न पाउने गैरआवासिए नेपाली संघ (एनआरएनए) ले विश्वास व्यक्त गरेको छ । सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा प्रवासी नेपालीको मताधिकारको सुनिश्चितता गर्ने घोषणा गरे पछि संघले स्वागत गर्दै छिट्टै मतदान गर्न पाउने व्यवस्था हुने विश्वास व्यक्त गरेको हो ।

विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा. बद्री केसीले स्वागत गर्दै छिट्टै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रणालीमा सूचना प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने बताएकी थिइन् । निर्वाचन सम्बन्धी एकीकृत कानूनलाई परिमार्जन गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत सहभागी गराइने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको थियो ।

सर्वोच्च अदालतले पनि २०७४ चैत ७ गते निर्देशात्मक आदेश जारी गर्दै विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो । त्यतिखेर सर्वोच्चले नेपाली नागरिकता नत्यागेका र अन्य मुलुकको नागरिकता नलिएका नेपालीलाई मतदानको व्यवस्था गर्न आदेश दिएको थियो । तर भर्खरै सकिएको स्थानीय तहको चुनावमा भने त्यसलाई कार्यान्वयन गर्न सरकार असफल देखियो । जसबाट विदेशमा बस्ने धेरै नेपाली मतदानबाट बञ्चित हुन पुगे ।

नीति तथा कार्यक्रममा भनिएको छ– ‘नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाइने नीति लिइनेछ । कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गरिनेछ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराइनेछ । गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गरिने ।’ नीति तथा कार्यक्रमको अन्त्यमा भनिएको छ– ‘नेपालको विकासमा सहयोग पु¥याउने छिमेकीलगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिन चाहन्छु ।’

यस्तै सरकारले यही वर्षे अधिवेशनमा नागरिकता सम्बन्धी विधेयक पारित गरेर एनआरएनए नागरिकताको समेत सुश्चित गर्ने नीति अख्तियार गरेको छ । नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘संसधमा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्‍याउन पहल गरिनेछ ।’ सरकारको यो नीतिलाई स्वागत गर्दै एनआरएनएका अध्यक्ष डा. केसीले प्रवासी नेपालीका तर्फबाट सरकारलाई आभार व्यक्त गरेका छन् । साथै उनले नीति तथा कार्यक्रममा घोषणा भएअनुरूपका कार्यक्रमहरू यथाशीघ्र कार्यान्वयनका लागि सरकार तथा राजनीतिक दलहरूलाई पनि आग्रह गरेका समेत गरेका छन् ।

त्यस्तै उनले प्रवासी नेपालीलाई मतदानमा सहभागी गराउनका लागि आवश्यक प्राविधिक क्षेत्रमा एनआरएनएले सक्दो सहयोग गर्ने पनि उल्लेख गरेका छन् ।