Dhulikhel Eco Banner new

‘एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, अर्काे सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस्’

5.1K
shares

काठमाडौँ, ३० असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् ।

मंगलबारदेखि यहाँ सुरु भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै ढकालले मातृभूमिमा देखाउन मिल्ने खालको काम गर्न सुझाव दिए । “अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन् हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ”, उनले भने ।

अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै कसैकाे बाहना नपत्याउने धारणा राखे । “अहिलेको पुस्ता कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरुलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरु यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरुलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।”

उनले गैरआवासीय नेपालीहरुलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न समेत सुझाव दिए । “सम्मेलनमार्फत् एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, कुनै ‘प्रोजेक्ट’ नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्काे सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरुले पनि यसै अवसरमा गर्नुहोस् अनि दसैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।” उनले विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा आफू पनि जोडिन चाहेको उल्लेख गरे।

“म यहाँहरुसँग सहकार्य गर्न हामी पनि आतुर छौँ । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई सुरुआत नै मानौँ र अब ठूलै स्केलको केही गरौँ । यहाँहरु विश्वको जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौँ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आफ्नो व्यक्तिगत तर्फबाट सम्मेलनको पूर्ण सफलताको कामना गर्दै अध्यक्ष ढकालले सरकारले गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने निर्णयको स्वागत गरे। “एकपटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु”, उनले भने “मलाई लाग्छ हामी नेपाली दाजुभाई जहाँ, जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ । तब पो हामीहरु सबैलाई नेपाली माया र माटोले तानिरहन्छ ।”