Dhulikhel Eco Banner new

‘आयात प्रतिबन्धले चोरीका मोबाईललाई प्रोत्साहन’

6.71K
shares

काठमाडौं, १३ जेठ । मोबाइलको आयातमा रोक लगाएर सरकारले मोबाईल चोरी पठारीलाई प्रोत्साहन गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा नेपाल मोबाईल बितरक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन् ।

सरकारको नीतिका कारण मोबाईल फोन आयात गर्न व्यवसायीले नसके पनि बजारमा सरकारले रोक लगाएका ६०० डलरभन्दा माथिका फोन छ्याप्छ्यापती भित्रिरहेको व्यवसायीले बताएका छन् । नेपाल मोबाईल आयातकर्ता संघका अध्यक्ष दिपक मल्होत्राले सरकारले ७५ हजार माथिका मोबाइल ल्याउन रोक लगाएको भए पनि बजारमा ती फोन अभाव नभएको उल्टै चोरी पैठारीको माध्यमबाट भित्रिएका मोबाइललाई प्रोत्साहन मिलेको बताएका छन् ।

‘नेपालमा आयात हुने सबै प्रकारका मोबाईल आयात गर्न दिनुपर्छ, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विगत दुई बर्षदेखि व्यवसायीलाई झुल्याइरहेको छ,’ अध्यक्ष मल्होत्राले भने । ‘यो पटकको बजेटमा मोबाईल फोनमा लाग्दै आएको अन्तशुल्क बढाउने तयारी सरकारले गरेको छ जुन अति घातक हुन्छ, अन्तशुल्क दर बढाउदा मोबाईल व्यवसायी पुनः १० बर्ष पहिलाको अवस्थामा पुग्छन्,’ उनले भने ।

यस्तै एमडिएमएसमा झुल्याउनु भन्दा लागू हुँदैन भने हुँदैन भन्नु आवश्यक रहेको मल्होत्राको भनाई छ । लामो समयसम्म झुल्याउने भन्दा पनि हुन्छ भने हुन्छ र हुन्न भने हुन्न भन्नु पर्ने उनको तर्क थियो । त्यस्तै अर्का मोबाइल व्यवसायी सञ्जय अग्रवालले सरकारले आयात रोकेर मोबाइल व्यवसायीलाई गलत नजरले हेरेको आरोप लगाएका छन् । ‘मोबाइल व्यापारले मात्रै देशको अर्थतन्त्र ओरोलो लगेको होइन, एमडीएमएस पूर्णरुपमा लागू गराएर मात्रै सरकारले अन्तशुल्क बढाओस्,’ अग्रवालले भने । अहिलेसम्म जे जति आपराधिक तथा चोरीको घटना भइरहेका छन् त्यो सबै अवैध रुपमा आयात भएका मोबाइलबाट भइरहेको अग्रवालको भनाई छ ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएसमा सफ्टवेयर डेभलोपमेन्टको काम सबै सकिएको भन्दै छिट्टै लागू हुने जानकारी दिए । ‘अप्रेटरकोमा राख्न जुन हामीलाई चाहिने डेटा सेन्टर आयातको क्रममा भेन्डरको नाजायज मागसँग सहमत हुन नसकिएको र कोभिडको समयमा ६ महिनासम्म पनि समान आएन, अब करिब २–३ महिनामा यो लागू हुन्छ,’ खनालले भने ।

मोबाईल बिक्री गर्ने व्यवसायी हो अनि चोरीको हो होइन भनेर पनि व्यवसायीहरु जानकार हुने भएकाले त्यसतर्फ व्यवसायीले ध्यान दिनु पर्ने उनको भनाई थियो । यता नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले २० प्रतिशत किसानमा प्रविधि पुर्याउने लक्ष्यमा रहेको भन्दै स्मार्ट प्रविधिको व्यवस्था कमजोर हुँदा अर्थतन्त्रमा नै असर पर्ने बताएका छन् । त्यसैले किसानलाई प्रविधिसँग जोडनका लागि स्मार्ट मोबाईलको आवश्वकता रहेको बताएका छन् ।

यता उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) उत्तम सुवेदीले भने प्रक्रिया झन्झटीलो भएका कारण चोरी भएको मोबाईल फेलापार्न समस्या भएको सुनाए । उनले भने– ‘भारतमा प्रहरीलाई नै कल डिटेल देखि सबै अधिकार रहेको छ, तर नेपालमा भने अदालतमा गएर अनुमति लिनु पर्ने कारणले पनि प्रहरीलाई समस्या भइरहेको छ ।’ खुल्ला सिमानका कारण नेपालमा चोरी भएका सामान भारत र भारतमा चोरी भएका सामान नेपाली बजारमा आउने गरेको उनले सुनाए । चोरी नियन्त्रणमा व्यवसायीले पनि ध्यान दिनु पर्ने उनको भनाई छ । व्यवसाय गर्न थाले पनि सुरक्षाका उपाय पनि अपनाउन जरुरी रहेको डिआईजी सुवेदीको भनाई छ ।

यता उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिब डा. गणेश प्रसाद पाण्डेले ६०० डलरभन्दा माथिका मोबाइलमा लगाएको प्रतिबन्ध केही समयको मात्रै भएको भन्दै यो सरकारको बाध्यता भएको बताएका छन् । ‘यो अवस्था लामो समय रहन्न, विदेशी मुद्राको चाप थेग्नका लागि पनि मोबाई लगायत बस्तुको आयातमा कडाई गर्नु परेको हो,’ सचिब पाण्डेले भने । चोरीका मोबाइलका विषयमा पनि व्यवसायी र उपभोक्ता समेत सचेत हुनु पर्ने उनको भनाई थियो ।