Dhulikhel Eco Banner new

रवि लामिछानेको आग्रहः व्यवसायी डराउनुपर्ने अवस्था छैन

884
shares

काठमाडौं, २० वैशाख । रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत सुदृढ बनाउने रहेको स्पष्ट पारेका हुन् ।

उनले सुशासन अभियानमा निजी क्षेत्रको साथ आवश्यक रहेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए। “कुनै पनि किसिमको डर राख्नुपर्ने आवश्यकता छैन,” उनले भने, “सरकारको लक्ष्य व्यवसाय ध्वस्त पार्ने होइन, व्यवस्थित र पारदर्शी बनाउने हो।”

लामिछानेले अर्थतन्त्रलाई कमजोर पार्ने गतिविधिमा भने राज्यले कडाइ गर्ने चेतावनी दिए। संस्थागत कब्जा, अवैध चलखेल तथा प्रणालीलाई असर गर्ने गतिविधिलाई सरकारले निर्ममतापूर्वक नियन्त्रण गर्ने उनको भनाइ थियो।

उनका अनुसार विगतमा राजनीतिक अस्थिरताका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटना सरकारलाई जानकारी छ। “त्यो अवस्था अब दोहोरिँदैन,” उनले भने, “सरकारले नीतिमार्फत नै व्यवसायीलाई सुरक्षा दिनेछ।”

उनले वर्तमान सरकार चुनावी वाचापत्रअनुसार सञ्चालन हुने र त्यसबाट विचलित नहुने दाबी गरे। व्यवसायीहरूलाई आफ्ना कमीकमजोरी पहिचान गर्न, आन्तरिक लेखापरीक्षण गर्न तथा सुधार प्रक्रियामा राज्यसँग सहकार्य गर्न उनले आग्रह गरे।

लामिछानेले अब व्यवसायीहरू समस्या लिएर नेताको घरघर धाउनुपर्ने अवस्था अन्त्य हुने पनि दाबी गरे। नीतिगत सुधार, सुशासन र आर्थिक पारदर्शितालाई सरकारले प्राथमिकतामा राखेको उनले बताए।