Dhulikhel Eco Banner new

बुढीगण्डकी नदी आसपासमा सतर्कता अपनाउन आग्रह

4.41K
shares

काठमाण्डौ, ९ वैशाख जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा आज जारी सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको हो ।

चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा विहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको वहाव बढेको थियो ।

“हिमालबाट अचानक झरेको हिम पहिरोले तालको पानी विस्थापन हुन गई नदीमा पानीको वहाव बढ्न गएको छ”, जारी सूचनामा भनिएको छ, “यो क्रम २४ घण्टासम्म रहनसक्ने देखिएकाले आवश्यक सर्तकता अपनाउन आग्रह गरिन्छ ।”

नदीमा पानीको वहाव बढेपछि चुमनुब्री गाउँपालिका बिभिन्न स्थानसहित धार्चे गाउँपालिकाको तातोपानी, माछीखोला बजार, आरुघाट गाउँपालिकाको सोती बजार, आरुघाट बजार, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकाको केही क्षेत्रहरु बाढीको जोखिम बढेको हो ।