बंगलादेशमा हिन्दुहरु माथिको हिंसात्मक मानव अधिकार विरुद्धको घटना हो : विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय
वि.सं.२०८१ साउन २३ बुधवार १७:३८
shares

काठमाडौं, २३ साउन । बंगलादेशमा भईरहेको हिन्दुहरु माथिको आक्रमण प्रति विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको हो ।
आरक्षण ब्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गर्दै बगंलादेशका हिन्दु समुदाय माथि गरेको हिंसात्मक गतिविधि अत्यन्तै निन्दनीय र बर्बरता पूर्ण रहेको उक्त घटना प्रति बिश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि हाल घटनाले उग्ररुप लिई रहेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति अनुसार हिन्दु मठ, मन्दिर ,पसल र घरहरुमा आक्रमण गरिएको खवरले संसारभरिका हिन्दुहरु दुखित हुन पुगेका छन् । करिब सवा करोड हिन्दु बिरुद्धको यो हमला बंगलादेशी हिन्दुहरु माथिको मानव अधिकार बिरुद्धको हमला हो ।
बंगलादेशका निर्दोष हिन्दु समुदाय माथिको अन्यायका बिरुद्ध संसारभरिका सम्पूर्ण हिन्दु ॐकार परिवार एक जुट भई आवाज उठाउन अनुरोध गर्दै अल्पसंख्यक जनताको संरक्षणका लागि संवेदनशिल हुन बंगलादेश सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।
त्यसैगरी विश्व हिन्दु महासंघले आफ्नो बंगलादेशमा रहेको च्याप्टर र त्यहाँका सम्पूर्ण हिन्दुहरुलाई विपत्तिको घडीमा एकजुट भइ सुरक्षित रुपमा रहन र उक्त हिंसात्मक घटनाबाट सजग हुन समेत अनुरोध गरेको छ ।
बंगलादेशका हिन्दुहरु माथि विगतमा पनि हिंसात्मक गतिविधि भई रहेको स्मरण गर्दै महासंघकी अध्यक्ष अस्मिता भण्डारीले भनिन् धर्म मान्न पाउनु मानिसको नैसर्गिक अधिकार हो , अल्पसंख्यामा रहेका हिन्दु धर्मावलम्बी बंगलादेशी नागरिकहरु माथि धेरै ठूलो अत्याचार भई रहेको छ । उनीहरु माथिको यो मानव अधिकार बिरुद्धको गम्भीर घटना हो ।
उनले भनिन् हिन्दुहरुका लागि नेपाल सरकार र भारत सरकार पनि उदार हुन जरुरी छ । ज्यान जोगाउनका निम्ति नेपाल र भारत दुवै देशमा आउन चाहाने बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरुलाई शरण दिनु पर्छ ।
संसारभरिका सम्पूर्ण हिन्दु धर्मावलम्बी ॐकार परिवार, मानव अधिकार कर्मी तथा बंगलादेशी सेना र सरकार एकजुट भइ बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरुको मानव अधिकारको संरक्षणका लागि गम्भीर हुन अनुरोध गर्दै उक्त घटना प्रति गम्भीरताका साथ अग्रसर हुन नेपाल सरकारलाई समेत अनुरोध गरेको जनाएको छ ।















