Dhulikhel Eco Banner new

नगरपालिका भित्रै छैन् मोबाईलको टावर

6.55K
shares

काठमाडौं, २५ जेठ । बर्दियाको मधुवन नगारपालिका वडा नम्बर ३ का अधिकाशं स्थानीयलाई फोनमा कुरा गर्न पर्दा घरबाट टाढा जानु पर्ने बाध्यता रहेको छ । सूचना प्रविधिको विकासले विश्वलाई एक सानो गाउँमा परिणत गरिसक्यो भनिरहँदा मधुवन नगरपालिका वडा नम्बर ३ को विपतपुर तथा धमौरा क्षेत्रका स्थानीयहरु भने फोन गर्नकै लागि घरबाट टाढा जानु पर्ने बाध्यता खेपिरहेका छन् ।

उनीहरुको यो समस्या अहिलेको मात्रै होइन विगत ५ वर्षदेखि उनीहरु यो समस्या भोगिरहेका छन् । गाउँलेसँग फान त छ तर कुरा गर्नका लागि भने उनीहरुलाई निकै गाह्रो हुने गरेको मधुवन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्लले बताएका छन् । यस विषयमा बारम्बार कुरा गर्दा पनि सुनुवाई नभएको उनले बताए ।

नेपालगन्जमा रहेको टेलिकमको क्षेत्रीय कार्यायलमा यस विषयमा जानकारी गराएको भए पनि कुनै पनि सुनुवाई नभएको उनले गुनासो गरे । कुनै पनि मोबाईलको टावर नहुँदा त्यहाँका स्थानीयलाई समस्या भइरहेको अध्यक्ष मल्लको भनाई छ ।

यता नेपाल टेलिकम बर्दियाका प्रमुख जितराम श्रेष्ठले भने यो आफ्नो कार्यक्षत्र भित्र नपर्ने बताएका छन् । ‘त्यो ठाउँमा टावर थपगर्नु पर्ने छ जुन केन्द्रबाट हुन्छ हामीलेते सामान्य मर्मत सम्भारको काम मात्रै गर्ने हो,’ उनले भने ।

मधुवनका लागि ओराली बजारमा टावर रहेको उनले बताए । अर्को टावर थप्ने विषयको जानकारी क्षेत्रीय कार्यालयमा आउने गरेको उनले बताएका छन् । उनी एईएमयुका वरिष्ठ इन्जियनियर सन्देश साहलाई जानकारी हुने भन्दै पन्छिए । तर साहले समेत यस विषयमा आफूलाई कुनै जानकारी नहुने बताए ।

‘हाम्रोमा यस विषयमा कुनै गुनासो आएको छैन, गुनासो आए पछि केन्द्रमा पठाउने कार्य मात्रै हामीले गछौँ,’ उनले भने । साहका अनुसार टावरको मर्मत गर्ने कार्यमात्रै हो टावर थप्ने विषय केन्द्रको हो यस विषयमा कुनै पनि जानकारी हुँदैन । तर यस विषयमा बारम्बार रुपमा आफूहरुले जानकारी गराएको वडा अध्यक्ष नारायण मल्लले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ को उपदफा ३ मा नगरपालिका बन्नका लागि चाहिने आवश्यक पूर्वाधारमा सञ्चार सुविधा हुनु पर्ने व्यवस्था रहेको छ । तर यो नगरपालिकाका स्थानीयहरु भने सञ्चार सेवाबाट बञ्चित भइरहेका छन् ।