शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंक
वि.सं.२०८१ मंसिर १३ बिहीवार १४:४१
shares

काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र गर्नुपर्ने व्यवस्था भएकोले भोलि नै समीक्षा सार्वजनिक गर्ने तयारीमा लागेको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांक गत साता नै सार्वजनिक गरेको भएपनि गभर्नर महाप्रसाद अधिकारी बाहिर रहेका कारण भोलि मात्रै समीक्षा सार्वजनिक गर्न लागेको हो।
राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा शेयर बजारलाई समेत प्रतिक्ष प्रभाव पार्नेगरी कुनै नीतिगत परिवर्तन नगर्ने तयारी गरेको जनाएको छ। अहिले शेयर बजारका लगानीकर्ताले शेयर धितो कर्जाको रिस्क वेटेज घटाउनुपर्ने र शेयर धितो कर्जाको सिमा हटाउनुपर्ने माग गरिरहेका छन्।
मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्र बैंकको उच्च व्यवस्थापन तहमा समेत छलफल भइसकेको छ। राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन नहुने संकेत गरेको छ। तीन महिनामा मौद्रीक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले अहिले आफ्नो नीतिहरुलाई यथावत नै राख्ने बुझिएको छ।
मौद्रिक नीतिको पहिलो समीक्षामा पनि व्यवसायी, बैंकर र शेयर बजारका लगानीकर्ताहरुले समेत केहि नीतिगत परिवर्तन खोजिरहेका छन्। तर राष्ट्र बैंकले पहिलो समीक्षामा भने ठूलो परिवर्तन नगर्ने देखिएको छ। मौद्रिक नीतिमा नै राष्ट्र बैंकले स्पेस रहेसम्मको लचकता अपनाएको थियो। यसले गर्दा पनि त्यसको प्रभावकारीता हेरेर मात्रै दोस्रो वा तेस्रो त्रैमासिक समीक्षामा केहि नीतिगत परिवर्तन हुन सक्ने बुझिएको छ।


















