Dhulikhel Eco Banner new

स्की खेलको पहिलो अनुभव

3.04K
shares

टिनीनीनी….. टिनीनीनीनी…. मोवाइलमा अर्लाम बज्यो । मन नलागी नलागी आँखा खोलेर मोवाइल हेरे, बल्ल ६ बजेको रहेछ । अर्लामलाई अफ गरेर सुते । त्यसको आधा घण्टा पछि त उठ्नै पर्ने थियो । ७ बजे खाजा खाएर त्यसपछि हामी एउटा नयाँ ठाउँको भ्रमणमा निस्कने तयारीमा थियौ । म उठे र दैनिक नित्य कर्म सकेँ । दशौँ तलामा रहेको मेरो रुमबाट म विहानको खाजा खानाका लागि दोस्रो तलामा पुगे । म भन्दा अगाडि नै साथीहरु पुगिसकेका रहेछन् । सबै जना धमाधम खाजा खाइरहेका थिए । मैले पनि थालभरी खाजा लिएर खान बसे ।

खाजा खाइसकेर हामी बसतर्फ अघि बढ्यौ । बाहिर माइनस १३ (–१३) डिग्री सेल्सियस तापक्रम थियो । सिन्ह्वा न्युज एजेन्सीले उपहार दिएको डाउन ज्याकेट, भोटे टोपी र बाक्लो पञ्जा लगाएर गाडिमा बसे । होटलको गेटबा २ मिनेट हिड्दा पनि जाडोले साह्रै गाह्रो बनायो । खाजा खान थोरै ढिला भएकाले म बसमा पुुग्दा एशिया प्यासिफिक क्षेत्रका अन्य पत्रकार साथीहरु अगाडि नै बसमा बसिसकेका थिए ।

बसका अधिकांश सिटहरु भरिएका थिए । मलाई कहाँ बस्ने होला ? भन्ने भयो । म अलमलमा परेको मारियनले देखिन् । उनले मलाई इशारा गर्दै आफ्नो छेउँमा आएर बस्न आग्रह गरिन् । म मारियनको छेउँमा बसे । उनी हाम्रो नयाँ असिस्टेन्ट हुन् । हाम्रो कार्यक्रम अवधिभरका लागि एशिया प्यासिफिक सेन्टरका लागि स्पेसिफिक असिसटेन्टका रुपमा अल्वर्ट र इमिली नाम गरेका २ कर्मचारी छन् । यसबाहेक नयाँ ठाउँमा जादा चाइना अन्तर्राष्ट्रिय प्रेस कम्युनिकेसन सेन्टर (सिआईपीसीसी)ले नयाँ असिसटेन्ट पठाउने गरेको छ । सोही क्रममा मेरियन हाम्रो टोलीमा छिन् । उनीसँग यस अघि बेइजिङकै एउटा भ्रमणमा भेट भएको थियो । हामी विच्याटमा पनि जोडिसकेका थियौँ । हाम्रो टिमका लागि उनी नयाँ थिइन् । धेरैलाई उनले नै चिन्दिन थिइन् । तर म र उनी भने परिचित थियौ ।

हामी चढेको गाडि अघि बढ्यो । सबैको सिटमा खाजाको प्याकेट राखिएको रहेछ । मारियनले पनि यो ब्याग तेरो हो भनेर मलाई दिइन् । खाजाको प्याकेटमा रहेको एउटा सानो प्लाटिस्कको प्याकेट निकाल्दै मरियनले देखाइन् । त्यसमा एउटा स्टिक जस्तो रहेछ । खोलेर उनले पेटमा लगाइन । उनले पेटमा लगाएको देखाउदै भनिन्, ‘तिमीलाई धेरै जाडो भयो भनेर यसरी लगाउनुु’ । आजको यात्रा हाम्रो विशेष थियो । हामी आज निकै धेरै हिउँ पर्ने ठाउँमा हिउँ खेल्नका लागि जादै थियौ । हामी बसेको होटबालट बसमा ३ घण्टा भन्दा लामो समय यात्रा गर्नु पर्ने थियो ।

आधा बाटो पुगेपछि सार्वजनिक शौचालय अगाडि बस रोकियो । सबै ओर्लिएर शौचालय गयौ । सँगै रहेको ग्रोसरी सपबाट आफ्नो रोजाइ अनुसार साथीहरुले खानेकुरा किने । मैले पनि ४ वटा स्निकर किने । लेक लाग्ने ठाउँमा जादा स्निकर खानु भन्ने सुनेको थिए । त्यहीँ भएर मैले स्निकर किनेको । पपुवा न्युगिनीको साथी जेसर, श्रींलकाको साथी समिथ, म्यानमारको साथी वाइ चुरोट तानिरहेका थिए । वाइले मलाई एउटा फोटो खिचिदिन अनुरोध गर्यो ।

मैले हातको पञ्जा खोलेर एउटा तस्वीर मेरो मोवाइलमा कैद गरे। त्यसपछि अरु साथीहरुसँग पनि सेल्फी खिचे । यतिमै मेरो हात जाडोले थुुरथुर काम्न थाल्यो । मैले मोवाइल पकटमा राख्दै हतारहतार पञ्जा लगाए । बाहिर धेरै नै जाडो थियो । सहनै नसक्ने जाडो भए भए म कुदेर बसभित्र पसे । बसबाट बाहिर निस्कदा ज्याकेटको चेन पनि लगाएको रहेनछु । त्यसैले होला मलाई अलि गाह्रो भएको महसुुस भयो । मैले मेरियनलाई गाह्रो भएको कुरा भने । अघि उनले धेरै जाडो भयो भने लगाउनु भनेको सामाग्री निकाले । उनले मेरो पेटमा राख्ने तरिका सिकाइदिइन् । त्यसपछि अघि बढियो । केही समय पनि हाम्रो गाडि एउटा रिसोर्टमा पुगेर रोकियो । रिसोर्ट बाहिर हिउँ नै हिउँको पहाड थियो । शरिरका सबै अंग ढाकेर हामी हिउँ तिर लम्कियौँ ।

स्की : जीवनको पहिलो अनुुभव
केहीबेर हिउँ हेर पछि हाम्रो टोली दुई क्षेत्रमा विभाजन भयो । एउटा टोली केवलकार चढेर माथि डाडारित लाग्यो । अर्को टोली भने स्की खेल्ने तयारीमा । केवलकार चढ्नु मेरा लागि नयाँ कुरा थिएन । यसकारण मैले चाहिँ स्की रोजे । स्की भनेको हिउँमा चिप्लिने खेल हो । यसका लागि हामीले सामान्य भन्दा विशेष पहिरन लगाउनु पर्ने रहेछ ।

राइज ज्याकेट, राइड ट्राउजरसँगै खुट्टामा विशेष प्रकारको जुत्ता र जुत्तामा जोड्न मिल्ने हिउँमा चिप्लिने सामाग्री । यसका अलवा हातमा २ वटा लौरो समेत लिएर हामी अघि बढ्यौ । हामीले लगाएको भन्दा फरक थियो जुत्ता । त्यो जुत्ता लगाएर हामीलाई हिड्नै पनि निकै गाह्रो थियो ।

पहिलो पटकको अनुभव भएकाले म एकदमै उत्साही थिए । तर खेल्न नसक्ने हो कि भन्ने डर पनि उत्तिकै । मसँगै एशिया प्यासिफिकका केही देशका साथीहरु र अफ्रिकन देशका केही साथीहरु थिए । हामी स्की खेल्ने ठाउँमा पुग्यौँ । हामीले पहिले वामअप गर्नुपर्ने रहेछ । कोचले हामीलाई वामअप गराए । कसरी खेल्ने भन्ने सिकाए । मलाई निकै नै गाह्रो भयो । कति साथीहरु सिक्ने क्रममै लडे ।

लडेपछि फेरि आफै उठ्न पनि नसकिने रहेछ । सिक्ने क्रममा म पनि एक पटक हिउँमा पछारिए । हिजो यसअघि जिलिन भ्रमणमा भेटिएका सिन्ह्वा न्युजका पत्रकारहरु लोरा, यान र मिक्की माउस लगायतका पत्रकारहरु पनि हामीसँग थिए । उनीहरुले स्की खेलेनन् । तर हामीलाई स्की खेल्न सहयोग गरे । म राम्रैसँग पछारिएको थिए । लडेपछि ण्ठ्न सकिन । मिक्की माउस र अर्को एक जना व्यक्ति आएर मलाई उठाए ।

विस्तारै मैले सिके । अब भने काम चलाउ रुपमा म स्की खेल्न सक्षम भइसकेको थिए । अब चाहिँ एक्लै जान्छुु अलि उकालोमा जान्छु भनेर अघि बढे । नमज्जासँग पछारिए । त्यतिबेला भने म लडेको सायद अरुले देखेनन् । मलाई पनि बोलाउन डर लाग्यो । मैले स्की खेल्ने सुज प्लेन निकाले निकै मुश्किलले उठे । लडेपछि उठ्न सिकिन्छ भन्ने कुरा बल्ल थाहाँ भयो । केहीबेर हामी रमायौँ । यानले मेरो अन्तरवार्ता लिइन् । उनले मलाई स्की खेलका बारेमा आफ्नो अनुभव शेयर गर्न भनिन् । लोराले पनि मेरो अन्तरवार्ता लिइन् । दुबै टिमलाई मैले आफ्नो अनुभव शेयर गरे ।

त्ययसपछि हामी खाना खानका लागि होटलमा गयौँ । खाना पछि हामी जिनि सिटी म्युुजियम घुम्न गयौँ । साझ सोही होटलमा फर्कियौ । जिलिन भ्रमणको दोस्रो दिन साच्चिकै रमाइलो भयो । जीवनमा कहिल्यै नखेलिएको स्की खेल खेल्न सिकियो । निकै रमाइलो अनुभव भयो । तस्वीर र भिडियोमा सिन्ह्वा न्युजका पत्रकार साथीहरु यान र मिक्कीले सहयोग गरे । उनीहरु दुबै जना निकै सहयोगी थिए । यहाँ बिताएका रमाइला पलहरुलाई केही क्यामेरामा र बाँकीम मनमतिष्कमा राखेर हामी फर्कियौँ । अचम्मको कुरा चाहिँ हिउँ खेल्ने ठाउँमा पुग्दा सम्म जाडो भएको थियो, स्की खेल्न सुुरु गरेपछि भने जाडो महसुुस गर्नु परेन । स्की खेल सुुरु गर्नु भन्दा पहिले १ पटक र स्की खेल्दै गर्दा हिउँमा ३ पटक राम्रैसँग पछारिए । हिउँमै बजारिदा पनि धेरै जाडो भने महसुुस भएन । परि आइलागे माइनस २० पनि सामना गर्न सकिने रहेछ भन्ने अनुभव गरियो ।