राजदूत ओली र चिनियाँ विदेश उपमन्त्री ह्वाछुन् यिङबीच भेट
वि.सं.२०८१ मंसिर २७ बिहीवार १७:०१
shares

काठमाडौं, २७ मंसिर । चीनका लागि नेपाली राजदूत कृष्ण प्रसाद ओलीले चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टरको चार महिने कार्यक्रममा नेपाली पत्रकारलाई सहभागी गराएको भन्दै चीन सरकारलाई धन्यवाद दिएका छन् । चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टरको पछिल्लो कार्यक्रममा ९२ देशका १०७ जना पत्रकारहरु सहभागी छन् जसमा नेपालका तर्फबाट रोयल आचार्यले प्रतिनिधित्व गरेका छन् ।
सो कार्यक्रमको अवधि पुरा भएको अवसरमा बुधवार बेइजिङमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी ९२ देशका १०७ जना पत्रकारसहित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा चीनको विदेश मन्त्रालयकी उपमन्त्री ह्वा छुन् यिङ समेत सहभागी थिइन ।
राजदूत ओली र मन्त्री ह्वा छुन् यिङबिच कार्यक्रम स्थलमा संक्षिप्त कुराकानी भएको थियो । कुराकानीको क्रममा राजदूत ओलीले नेपाली पत्रकारलाई यस किसिमको अवसर दिएकोमा धन्यवाद ज्ञापन गरेका हुन् । चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टरको यस कार्यक्रम अन्तर्गत विभिन्न देशका पत्रकारहरुलाई चीनमा अध्ययन गराउने तथा विभिन्न ठाउको भ्रमण गराउने कार्यक्रम गर्दै आएको छ ।
पछिल्लो पटक आचार्य सहभागी भएपनि यसअघि आयोजना भएका कार्यक्रममा नेपालका धेरै पत्रकारहरु सहभागी भईसकेका छन् । उपमन्त्री ह्वाले कार्यक्रम भव्यरुपमा सम्पन्न भएको र पत्रकारहरुको सक्रियताले आफू खुसी भएको बताईन् । कार्यक्रम अवधिभरी राजदूत ओलीसँग सिआईपि सिसिका कार्यक्रम निर्देशक मिस्टर ल्यु र एसिया प्यासिफिक प्रेस कम्युनिकेसन सेन्टरका निर्देशक जम्बु समेतले भेटवार्ता गरेका थिए । कार्यक्रममा सक्रिय सहभागिताका लागि एसिया प्यासिफिकलाई मिस्टर ल्युले धन्यवाद दिए ।
नेपालको सहभागिता पनि दमदार रहेको भन्दै उनले आचार्यको प्रशंसा गरेका थिए । विशेष गरी एसिया प्यासिफिक क्षेत्रका निर्देशक मिस्टर जम्बुले राजदूतसँग नेपालका तर्फबाट सहभागी आचार्यको भूमिका प्रशंसनीय भएको बताए । यसले आगामी दिनमा नेपाल चिन सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने समेत उनले बताएका छन् ।


















