Dhulikhel Eco Banner new

दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : ढकाल

2.24K
shares

काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए ।

शुक्रबार सम्पन्न १५औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा अध्यक्ष ढकालले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताएका हुन् ।

उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औंल्याए ।

विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताए ।

ढकालले साफ्टाले नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको ठूलो सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र पेट्रोलियम  इन्धनमा निर्भरता कम गर्न सहयोग गर्नसक्ने बताए ।

अध्यक्ष ढकालले दक्षिण एशियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनिकरणका लागि स्रोत सीमित रहेको बताए । जलवायु योजना कार्यान्वयनका लागि २०३० सम्म वार्षिक २०० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको उनले जानकारी गराए ।