Dhulikhel Eco Banner new

धितोपत्र बोर्डको आयोजनामा पूँजी बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

2.16K
shares

काठमाडौं, १ माघ । नेपाल धितोपत्र बोर्ड (सेवोन) को आयोजनामा एक दिने पूँजी बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बोर्डले महिला आर्थिक पत्रकार संघ (फेजा) सँगको सहकार्यमा सोमवार काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा फेजाका २५ जना सदस्यहरुलाई सहभागीभएका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले बोर्डले पहिलो पटक महिला आर्थिक पत्रकारहरुलाई मात्र सहभागी गराई आयोजना गरेको प्रशिक्षण कार्यक्रमले पूँजी बजारको समाचार लेखनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आर्थिक पत्रकारिताभित्र पनि पूँजीबजारलाई प्राथमिकतामा राखेर समाचारहरु सम्प्रेषण हुदैं आएको अवस्थामा यो प्रशिक्षणले महिला आर्थिक पत्रकारहरूमा सिकाइको एउटा इँटा थप हुने अपेक्षा समेत डा. अधिकारीले व्यक्त गरे ।

त्यस्तै, फेजाकी अध्यक्ष शर्मिला ठकुरीले पूँजीबजारका विषयमा समाचार लेख्ने आर्थिक पत्रकारमध्ये महिला पत्रकारको संख्या बढी रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘पत्रकारको काम खोज्ने नै हो । तर, त्यसका लागि सिकाइ आवश्यक पर्छ । हामीले खोज्ने विषयमा सम्बन्धित क्षेत्रले थप विषय विज्ञताका लागि जानकारी दिने, तालिम तथा सिकाइ सम्बन्धी विभिन्न कार्यक्रम गरिदिन आवश्यक छ ।’

नेपालको धितोपत्र प्राथमिक तथा दोस्रो बजार र एसएमइज प्लेटफर्म, बुक विल्डिङ विधि, धितोपत्र बजारको आधारभूत विश्लेषण, धितोपत्र प्राथमिक र दोस्रो बजार सुपरिवेक्षण लगाएतका विषयलाई प्राथमिकतमा राखेर बोर्डले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

प्रशिक्षण कार्यक्रममा धितोपत्र बजार र एसएमईज प्लेटफर्मको विषयमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, धितोपत्र बजारको आधारभूत विश्लेषणको लागि बोर्डका चार्टर्ड एकाउन्टेन्ट सुरज पराजुली, बुक विल्डिङ विधिका लागि बोर्डका उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी, नेपालको धितोपत्र दोस्रो बजारका विषयमा नेप्सेका प्रबन्धक निरञ्जन फुयाल र धितोपत्र प्राथमिक र दोस्रो बजार सुपरिवेक्षणको विषयमा बोर्डका निर्देशकद्वय रञ्जना थकुलवट र अनुज रिमालले सहजीकरण गरेका थिए ।