बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस
वि.सं.२०८१ फागुन १२ सोमवार १२:१७
shares

काठमाडौं, १२ फागुन । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो।
सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जनालाई सिफारिस गरेको हो। यस सन्दर्भमा, समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम पहिलो, दोस्रो र तेस्रो स्थानमा सिफारिस गरेको जनाएको छ।
मन्त्रिपरिषदको बैठक सोमवार साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने छ। यस बैठकमा यी तीनमध्ये एकलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरिनेछ। अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ।
सिफारिस समितिले गत शनिबार सम्पन्न व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा आधारित रहेर सर्वाधिक अंक प्राप्त गर्ने तीन जनालाई सिफारिस गरेको छ। अब मन्त्री परिषदको निर्णयले नयाँ अध्यक्षको चयन निश्चित गर्नेछ।
















