Dhulikhel Eco Banner new

सानिमा बैंकका सीईओको तलव बढाउन महाभारत, राष्ट्र बैंकमा कसले अड्कायो फाइल ?

2.73K
shares

काठमाडौं, १३ फागुन । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कति खान्छन् तलव ? कुनै बेला यो विषय निकै चर्चामा थियो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बैंकका सीईओको तलबको विषयमा टिप्पणी गरे ।

सीईओको तलवका विषयमा संसदीय समितिमा समेत व्यापक बहस भएको थियो । सर्वसाधारणको पैसाबाट महिनाकै २५ लाख तलब खाएको भनेर कांग्रेस, एमाले र माओवादीकै सांसदहरु पनि सिंहदरबारभित्र कुनै बेला बुरुक्क उफ्रिन्थे । यसरी कुरा उठाउनेमा अधिकांश नबुझेकै सांसदहरु थिए । सीईओले किन धेरै तलव खान्छन् ? अनि उनीहरुले राज्यलाई कर कति तिर्छन भन्ने कुरा अधिकांशले बुझेकै थिएनन् ।

अहिले यहीँ तलवको विषयले निकै चर्चा पाएको छ । चर्चा अहिले केही बैंकको बोर्डमा र केन्द्रीय बैंकका हाकिमहरुको कार्यकक्षमा छ । यहाँ प्रसंग निकाल्न खोजिएको कुरा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको हो ।

सानिमा बैंकका तत्कालीन सीईओ भुवन दाहालले अत्यन्तै कम तलवमा काम गरेका थिए । दाहाल बैंकमा लागेर पैसा कमाउने भन्दा पनि सेवा भावले काम गर्छु भन्ने सोच बनाएका व्यक्ति हुन् । त्यसैले हुनसक्छ उनले तलवका विषयमा वास्ता गरेनन् । बोर्डले जति तोक्यो त्यति तलवमा काम गर्न राजी भए । कार्यकाल पूरा गरेर बैंकबाट दाहाल बाहिरिए पछि सीईओ बनेका निश्चलराज पाण्डेलाई भने अहिले आपत परेको छ । उनले आर्थिक वर्ष २०८०/८१ मा १ करोड १९ लाख ३६ हजार रुपैयाँ तलब र भत्ता प्राप्त गरेका छन्।

दाहालकै पालामा तोकिएको तलव भत्तामा पाण्डेले पनि काम गरिरहेका छन् । बैंकका एक बोर्ड मेम्बरले केटिएम भ्वाइसलाई दिएको जानकारी अनुसार सीईओको तलव बढाउन केन्द्रीय बैंकमा पत्राचार पनि गरिएको छ । ‘सीईओको तलव भत्ताको विषयमा राष्ट्र बैंकले एउटा गाइडलाइन बनाएको रहेछ, राष्ट्र बैंकले ओके नभनी बढाउन नमिल्ने हुँदा समस्यामा परेको छ’ ति सञ्चालकले भने ।

सीईओको तलव बढाउनका लागि पत्र बालुवाटार पुगेको केन्द्रीय बैंकले पनि पुष्टि गरेको छ । केन्द्रीय बैंकका एक उच्च अधिकारीले यसको पुष्टि गर्दै के कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको केटिएम भ्वाइसलाई बताए ।