नेप्सेको सीईओमा आवेदन दिने म्याद ७ दिन थप
वि.सं.२०८१ फागुन १८ आइतवार १०:०७
shares

काठमाडौं, १८ फागुन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिनको लागि तोकिएको समय अब ७ दिन थपिएको छ। यससँगै अब उम्मेदवारहरूले आगामी फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
सिफारिस समितिले जानकारी दिएको अनुसार, समय थप्ने निर्णय सार्वजनिक विदाको कारण गरिएको हो, जसका कारण तोकिएको समयको अवधिमा तीन दिनको सार्वजनिक विदा परेको थियो। यसरी समय थपिएपछि योग्यता पुगेका उम्मेदवारहरूले अब फागुन २५ सम्म आवेदन पेश गर्न सक्नेछन्।
सीईओ पदका लागि उम्मेदवारमा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर डिग्री वा चार्टर्ड एकाउण्टेन्सी ९ऋब्० वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने छ। साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी काममा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा कार्य गरेको अनुभव र १५ वर्षको कार्य अनुभव आवश्यक छ।
आवेदनको साथमा उम्मेदवारले दुईवटा पासपोर्ट साइजको फोटो र चारवटा व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ, र आवेदन दस्तुरको भुक्तानी राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा बुझाउनुपर्नेछ। भुक्तानीको सक्कल भौचर आवेदनसँग संलग्न गर्नु पर्नेछ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता र अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेप्सेले तोकेको हुने छ।
















