सगरमाथा सफाइका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच सम्झौता
वि.सं.२०८१ चैत १४ बिहीवार १४:४३
shares

काठमाडौं, १४ चैत । नेपाल लाइफ इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच माउन्ट एभरेस्ट क्लिन अप इनिसिएटिभ २०२५ अभियानका लागि समझदारी भएको छ ।
बिहीवार मध्य बानेश्वरस्थित ग्लोबल कलेजमा आयोजित विशेष समारोहमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुली र राउन्ड टेबल नेपालका सभापति प्रवेश अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कयाल, राउन्ड टेबल नेपालका सभापति प्रवेश अग्रवाललगायतको उपस्थिति रहेको थियो ।
यसले पर्वतीय क्षेत्रमा पर्यावरण संरक्षणको प्रयासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।कम्पनीका अनुसार माउन्ट एभरेस्टको उच्च स्थानहरूबाट संकलित प्लास्टिक र अन्य फोहोर सामाग्रीलाई काठमाडौं ल्याएर रिसाइक्लिङ गर्ने प्रक्रिया सुरु गरिनेछ ।
उक्त अभियानले पर्वतीय क्षेत्रमा फोहोर व्यवस्थापनलाई सुधार्ने छ। साथै यसले पर्यावरणीय चुनौतीहरूको समाधानमा पनि योगदान पुर्याउने विश्वास रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुलीले भने “सगरमाथा नेपालको गौरव र प्रमुख पर्यटकीय गन्तव्य हो । यसको प्राकृतिक सौन्दर्यको संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।”
उनले भने, ‘बीमा व्यवसायले मानिसको जीवनको जोखिम वहन गर्ने काम गर्छ, तर नेपाल लाइफ अब सगरमाथाको प्राकृतिक सुन्दरता जोगाउने जिम्मेवारी पनि लिँदैछ । पर्यटन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि यो अभियान महत्त्वपूर्ण छ।’
राउन्ड टेबल नेपालका सभापति अग्रवालले संकलित फोहोरको रिसाइकलबाट प्राप्त नाफा विभिन्न शैक्षिक संस्थालाई सहयोग गर्न प्रयोग गरिने जानकारी दिए । यसले समाजको लागि मात्र नभई आगामी पुस्ताको लागि पनि एक सकारात्मक योगदान पुर्याउने उनले बताए ।















