Dhulikhel Eco Banner new

बजेटमा भएको विभेद र त्रुटी नसच्याए सिंहदरबार घेर्ने स्वदेशी उद्योगीहरुको चेतावनी

4.89K
shares

काठमाडौं, १ असार । सरकारले हालै ल्याएको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन् ।

उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा (मंगलबार) पत्रकार सम्मेलन गर्र्दै स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र उद्योगी किरण साखःले आफूहरुको माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमाा उत्रिन बाध्य हुने चेतावनी दिएका हुन् ।

सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै स्वदेशी उत्पादकहरुले आफूहरु मारमा परेको र उद्योग नै बन्द हुने अवस्था सिर्जना भएको गुनासो पोख्दै आएका छन् ।

आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग आज सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको आरोप लगाएका छन् ।

नेपालको उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

नेपाली उद्योगलाई पुर्ण रुपमा धराशयी बनाउने नीति सरकारले लिएको भन्दै देश सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुंदै पनि विदेशी सामाग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्याएको उनले आरोप लगाए । आफुहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाई छ ।

उनले भने,‘आफैं सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशयी बनाउने र सिध्याउने नीति लिएको छ ।’

उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशतमात्र अन्त शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए । सेनेटरी प्याड उत्पादनमा पुर्ण रुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ।