Dhulikhel Eco Banner new

‘वित्तीय साक्षरताको कुनै सीमा छैन, यो जन्मेदेखि मृत्युसम्म चाहिने शिक्षा हो’

‘वित्तीय साक्षरता’ उद्घाटन कार्यक्रममा कसले के भने ?

7.35K
shares

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकका कार्यवाहक गर्भनर निलम ढुंगाना तिम्सिनाले वित्तीय साक्षरताको कुनै सीमा नै नरहेको बताएकी छिन् । नेपाल टेलिभिजनमा प्रशारण हुने वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कार्यबाहक गभर्नर ढुंगानाले वित्तीय साक्षरताको कुनै सीमा नै नरहेको भन्दै यो जन्मदेखि मृत्युसम्म चाहिने शिक्षा भएको बताएकी हुन् ।

यो पनि पढ्नुहोस  : यसरी उद्घाटन भयो वित्तीय साक्षरता कार्यक्रम (फोटो समाचार)

राष्ट्र बैंकले वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउदै आएको छ । पछिल्लो समय सञ्चार माध्यमले पनि यसलाई प्राथमिकता दिएका छन् । केटिएम भ्वाइसले नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको कार्यक्रम पनि राष्ट्र बैंकले सुरु गरेको अभियानमा अर्को नयाँ इटा थपिए जस्तै भएको उनको भनाइ छ ।

पाठ्यक्रममै वित्तीय शिक्षा आवश्यक छ

कार्यबाहक गभर्नर ढुंगानाले पाठ्यक्रममै वित्तीय साक्षरतालाई राख्नु पर्ने बताइन् । ‘उनका अनुसार वित्तीय साक्षरता प्राथमिक तहदेखि एड्भान्स लेभलसम्म पाठ्यक्रम नै राख्न आवस्यक छ’ उनले भनिन् ।

कतिपय बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई समेत वित्तीय शिक्षा आवश्यक रहेको समेत उनले बताएकी छिन् । सहर केन्द्रीतमात्रै नभएर प्रादेशिक स्तरमा समेत अभियानको रुपमा नै वित्तीय साक्षरता कार्यक्रमहरु भइरहेका छन् । ग्लोबल मनि विकका अवसरमा राष्ट्र बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरु कुनै एक समयमा मात्रै नभएर निरन्तर रुपमा चलिरहनु पर्ने उनले बताइन् ।

वित्तीय चेतनाको अभावका कारण कर्जाको सदुपयोगिता नभएको भन्दै उनले कर्जाको दुरुपयोग रोक्न पनि यस्ता अभियानहरु सञ्चालन हुनुपर्ने बताइन् । ‘कर्जा लिएपछि त्यसको सदुपयोग गर्नुपर्छ, जे प्रयोजनमा लिएको हो सोही प्रयोजनमा खर्च हुनुपर्छ’ कार्यबाहक गभर्नर ढुंगानाले भनिन्, ‘यस्ता कुराहरु बुझाउन सक्नु पर्छ ।’ रेमिट्यान्सबाट आएको रकमहरु उत्पादनशीलमा क्षेत्रमा लगानी गर्नुपर्ने गर्न समेत उनको सुझाव छ ।

प्रभावकारिता पनि हेरौँ : उपाध्यक्ष रेग्मी

नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन पछि त्यसको प्रभावकारीतामा पनि ध्यान दिनु पर्ने बताए । कार्यक्रम सञ्चालन गर्दै गर्दा त्यो कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने उनको सुझाव छ ।

‘साक्षरताको अवस्था हेरेर कुन तहको शिक्षा दिने हो त्यो निर्धारण हुनुपर्छ’ रेग्मीले भने, ‘वित्तीय साक्षरता पढाइसकेपछि बुझ्नु पर्ने मान्छेले कुरा बुझेका छन् कि छैनन् भन्ने कुरा पनि ध्यान दिनु पर्ने हुन्छ ।’

उपाध्यक्ष रेग्मीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न छानिने जिल्ला पनि उचित हुनुपर्ने बताए । कार्यक्रम सरल रुपमा सम्पन्न गर्दा सहरी क्षेत्र हेरिने गरेको भन्दै जहाँ वित्तीय साक्षरता कार्यक्रम आवश्यकता छ, त्यहाँ लैजान उनको सुझाव छ ।

डिजिटल साक्षरता पनि आवश्यक छ : सीईओ प्रधान

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले डिजिटल साक्षरताको पनि धेरै महत्व रहेको बताए । वित्तीय साक्षरताको कुरा गर्दै गर्दा आजको युगमा डिजिटल साक्षरता भुल्न नहुने उनले बताए ।

प्रविधिले अहिले धेरै कुरा सहज बनाएको छ । जुनसुकै ठाउँमा बसेर पनि धेरै काम गर्न सकिन्छ । टेक्नोलोजीको प्रयोग गरेर हुनसक्ने सहजबारे चेतना जरुरी रहेको सीईओ प्रधानले बताए ।

भविष्य राम्रो बनाउन पनि वित्तीय साक्षरता : कामू सीईओ ज्ञवाली

नबिल बैंकका कामू प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय साक्षरता कार्यक्रममा राम्रोसँग लगानी गर्नु पर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले कुल नाफाको १० देखि १५ प्रतिशतसम्म वित्तीय साक्षरता कार्यक्रममा लगानी गनुपर्ने धाराणा राखेका छन् ।

वित्तीय ज्ञानको अभाव भएको ठाउमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिदै उनले भने, ‘वित्तीय साक्षरता भन्नेबित्तिकै बैंक खाता खोल्ने मात्र होइन । ऋण लिनुमात्र होइन । आफ्नो भविष्य कसरी सुनिश्चित गर्ने भन्नेमा पनि वित्तीय साक्षरता महत्वपूर्ण हुन्छ ।’

बैंकमा खाता खोलेरमात्रै पुग्दैन : अध्यक्ष पन्त

फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था वित्त कम्पनी संघका अध्यक्ष सुनिल पन्तले बैंक खाता खोलेरमात्रै वित्तीय रुपमा साक्षर नहुने बताएका छन् । पछिल्लो समय बैंकमा खाता खोल्नेहरुको संख्या बढ्दो छ ।

मुलुकको जनसंख्या भन्दा धेरै बैंक खाता रहेको तथ्यांकतर्फ संकेत गर्दै उनले बैंकमा खाता खोलेर मात्रै वित्तीय रुपमा सचेत कोही नहुने बताए । यद्यपि बैंक तथा वित्तीय संस्थाहरुकै कारण पछिल्लो समय वित्तीय चेतनामा बढोत्तरी भएको उनको बुझाइ छ ।

तर अहिलेकै अवस्थालाई पर्याप्त मान्न नसकिने उनले बताए । ‘वित्तीय साक्षरता दूरदराजसम्म पुग्न जरुरी छ’ उनले भने, ‘हरेक वर्ष बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कार्यक्रम सञ्चालन गर्दै जाँदा अहिले धेरै सुधार देखिएको छ, तर पर्याप्त छैन ।’’

विकट क्षेत्रमा अझै चेतना कम छ : अध्यक्ष यादव

लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न अतिआवस्यक रहेको बताए । सहरी क्षेत्रमा भन्दा दुर दराजमा चेतनाकोस्तर कम रहेको भन्दै वित्तीय साक्षरता अभियानलाई गाउँगाउँमा लिएर जानु पर्ने उनले बताए ।

उनका अनुसार वित्तीय साक्षरताको अभावका कारण गाउँघरका मानिसहरू वित्तीय ठगी र अन्य समस्यामा परिरहेको छ । त्यसैगरी, उनले लघुवित्त संस्थाले यस्ता कार्यक्रमहरूको लागि सधैं सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यादवले डिजिटल प्रविधिको महत्त्व दर्शाउदै भने, ‘आजको युग डिजिटल युग हो ।’ त्यसैगरी, ‘बैंकिङ र अन्य कारोबारी कार्यहरू प्रायः मोबाइलमार्फत भइरहेका छन् तर ग्रामिण क्षेत्रमा प्राविधिक ज्ञानको अभाव अझै कायम छ ।’

उनले लघुवित्तका ६० हजार ग्राहकलाई मोबाइल कारोबारको माध्यमबाट सेवा दिन असमर्थता व्यक्त गर्दै सुधारका उपायमा जोड दिए ।

अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइसले उत्पादन गर्ने वित्तीय साक्षरता कार्यक्रम नेपाल टेलिभिजन न्युज एचडीमा हरेक शुक्रबार साझ ६ः२५ र शनिबार राति ९ बजे प्रशारण हुने कार्यक्रम संयोजक रोयल आचार्यले जानकारी दिए । संयोजक आचार्यका अनुसार कार्यक्रममा २ खण्डहरु छन् । पहिलो खण्डमा वित्तीय साक्षरता सम्बन्धी रिपोर्ट र दोस्रो खण्डमा वित्तीय साक्षरता कुराकानी प्रस्तुत हुने उनले जानकारी दिए ।