शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू निरन्तर आन्दोलनमा
वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:१२
shares

काठमाडौं, ९ बैशाख । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले मङ्गलवार पनि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रलाई केन्द्र बनाउँदै प्रदर्शनलाई निरन्तरता दिएका छन्।
गत २० दिनदेखि शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका शिक्षकहरूले सरकारले आगामी अधिवेशनबाट विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि आफूहरूले आन्दोलन रोक्न नसक्ने स्पष्ट पारेका छन्। आन्दोलनकै क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।
शिक्षकहरूको भनाइमा, सरकारले विगतमा पटकपटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको अनुभवका कारण यसपटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन्। उनीहरूले शिक्षा ऐन जारी भएको औपचारिक दिनमै आन्दोलन अन्त्य गर्ने बताएका छन्।
सरकारले भने वैशाख १२ गतेदेखि शुरु हुने आगामी बजेट अधिवेशनमा शिक्षा विधेयक पेस गरिने स्पष्ट पारेको छ। तर शिक्षकहरू भने सरकारले अझै पनि गम्भीर ढंगले ऐन ल्याउने विश्वास दिन नसकेको गुनासो गर्दै आन्दोलन जारी राख्ने अडानमा छन्।
शिक्षा क्षेत्रको स्थायित्व र शिक्षकहरूको हकहितका लागि ऐन अपरिहार्य भएको शिक्षक संगठनहरूको भनाइ छ। आन्दोलनले सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ भने विद्यार्थी तथा अभिभावकहरूमा पनि अन्योल बढेको छ।


















