किसानलाई बाली रोप्नुअघि नै न्यूनतम समर्थन मूल्य तोकिने
वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:३६
shares

काठमाडौं, १८ वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ।
निर्देशिकाअनुसार अब किसानहरूले बाली रोप्नुअघि नै धान (बर्खे र चैते), मकै, गहुँ र कोदो लगायत प्रमुख बालीको न्यूनतम समर्थन मूल्यबारे जानकारी पाउनेछन्।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले उक्त निर्देशिका ल्याएको जनाएको छ।
निर्देशिकामा बालीअनुसार मूल्य निर्धारणका लागि स्पष्ट कार्यतालिका तोकिएको छ। जसअनुसार उखुका लागि ३० भदौसम्म फिल्ड सर्वेक्षण र तथ्यांक संकलन, १५ असोजसम्म विश्लेषण प्रतिवेदन तयारी तथा ३० कात्तिकसम्म अन्तिम सिफारिस पेश गरिने व्यवस्था गरिएको छ।
त्यसैगरी गहुँका लागि ३० साउनसम्म सर्वेक्षण सम्पन्न गरी १५ भदौसम्म प्रतिवेदन तयार पारिने र ३० असोजभित्र अन्तिम सिफारिस गरिने उल्लेख छ।
चैते धान, वर्षे धान, वर्षे मकै र कोदोका लागि पनि मंसिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिस प्रक्रिया सम्पन्न गरिने निर्देशिकामा व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्थाले किसानलाई बाली छनोट गर्न सहज हुने, उत्पादन योजना बनाउन सहयोग पुग्ने तथा बजार जोखिम घट्ने अपेक्षा गरिएको छ।
किसानले न्यूनतम मूल्यको सुनिश्चितता पाउने भएकाले कृषि क्षेत्रमा लगानी र उत्पादन वृद्धि हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
कृषि उपजको उत्पादन लागतमा हुने उतारचढावलाई स्थिर बनाउन, मूल्य जोखिम न्यूनीकरण गर्न तथा किसानलाई न्यूनतम नाफा सुनिश्चित गर्दै कृषि पेसातर्फ आकर्षित गर्न उक्त निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ।
यो निर्देशिका खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को दफा ४७ उपदफा (१)अनुसार जारी गरिएको हो।


















