‘अनुभूतिको संगालो’ सार्वजनिक, लेखक प्रल्हाद दाहाललाई ‘नव क्षितिज रजत सम्मान’
वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:१२
shares

काठमाडौं, ९ वैशाख । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक भएको छ । काभ्रेबाट प्रकाशित ‘नव शिक्षीज साप्ताहिक’ पत्रिकाको २५औं वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित विशेष कार्यक्रमको अवसरमा दाहालद्वारा लिखित पुस्तक सार्वजनिक गरिएको हो ।
पत्रिकाको नियमित स्तम्भकारसमेत रहेका दाहालले कृषि, डेरी, शिक्षा तथा समसामयिक विषयमा लेखिएका विविध लेखहरु समावेश गरेर पुस्तक प्रकाशन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामबरण यादव लगायत अतिथिहरुले पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै लेखक दाहालले आफ्नो गृह जिल्लामा आएर पुस्तक सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको बताए । ‘यस अगाडि विभिन्न सञ्चार माध्यममा लेखहरु प्रकाशन गर्दै आइरहेको थिए । पहिलो पटक पुस्तक प्रकाशन गर्न सफल भएको छु,’ उनले भने, ‘पुस्तक प्रकाशनका लागि हौसल्ला प्रदान गर्ने सम्पूर्णप्रति म आभारी छु ।’
आगामी दिनमा अझै गहन विषयबस्तु छनोट गरी दोस्रो पुस्तक प्रकाशन गर्ने उनले प्रतिबद्धता जनाएका छन् । यसैबीच पत्रिकाको रजत वर्षको अवसरमा पुस्तकका लेखक दाहाल सम्मानित भएका छन् । बिगत लामो समयदेखि नेपालको कृषि, विशेषगरी दुग्ध क्षेत्र, कला, साहित्य, इतिहास र सामाजिक विकासका विषयलाई कलममार्फत उजागर गरेकाले सम्मान गरिएको आयोजकको भनाइ छ । प्रमुख अतिथि यादव लगायत अतिथिहरुले दाहाललाई सम्मान गरेका हुन् ।
सम्मान पाएपछि दाहालले लेखनमा अझै सक्रिय हुँदै गहन विषयमा दोस्रो पुस्तक प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरे । “यो सम्मानले लेखन यात्रामा नयाँ ऊर्जा थपेको छ,” उनले भने ।


















