Dhulikhel Eco Banner new

सरकारको आर्थिक नीति सार्वजनिक, उत्पादनमुखी अर्थतन्त्र र पूर्वाधारमा जोड

2.39K
shares

काठमाडौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारका प्रमुख प्राथमिकताहरू सार्वजनिक गरेका छन्। नीति तथा कार्यक्रममा देशको समसामयिक आवश्यकता र दीर्घकालीन विकासलाई मध्यनजर गर्दै झण्डै एक दर्जन प्राथमिक क्षेत्रहरूमा केन्द्रित हुने सरकारको योजना छ।

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राख्दै यसविरुद्ध भएका गतिविधिको कडा प्रतिवाद गर्ने स्पष्ट गरेको छ। साथै, संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने तयारी पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

राजनीतिक स्थायित्व तथा नीतिगत स्थिरता कायम गर्नु, विकास निर्माणका परियोजनालाई पुनः प्राथमिकीकरण गर्दै असफल आयोजना स्थगन वा खारेज गर्ने तथा प्रभावकारी आयोजना छनोट गर्ने सरकारको रणनीति हो।

शिक्षा क्षेत्रमा विद्यालय तहमा विद्यमान चुनौती समाधान गर्दै उद्यमशीलता अभिवृद्धि गर्न पाठ्यक्रममा सुधार गरिनेछ। युवामुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै नयाँ पुस्ता ‘जेन–जी’ लाई लक्षित गर्दै स्टार्टअप कार्यक्रम परिमार्जन गरिने बताइएको छ।

स्वास्थ्य सेवामा आवश्यक जनशक्ति व्यवस्थापन, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना, कृषि क्षेत्रको व्यवसायीकरण तथा पूर्वाधार विकासमा तीन तहका सरकारबीच समन्वय प्रमुख कार्यसूचीका रूपमा प्रस्तुत गरिएको छ।

अनावश्यक संरचना खारेज गर्दै सरकारी सेवा प्रणालीलाई फेसलेस र अनलाइन प्रणालीमा रुपान्तरण गरिने जनाइएको छ। सन्तुलित र सुदृढ अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि सरकारले प्राथमिकताको रूपमा लिएको छ।