Dhulikhel Eco Banner new

पब्लिक लिमिटेडमा परिणत हुँदै नेक्सजेन, अब एक अर्ब पूँजीको लक्ष्य

3.38K
shares

काठमाडौं, २३ वैशाख । सम्पत्ति व्यवस्थापनको क्षेत्रमा सक्रिय नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा सोमवार काठमाडौंको मैतिदेवीमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा सम्पन्न उक्त सभाले कम्पनीको पूँजी वृद्धि र पब्लिक लिमिटेडमा रूपान्तरणसम्बन्धी महत्वपूर्ण निर्णयहरू सर्वसम्मतिले पारित गरेको छ।

सभामा प्रवन्ध सञ्चालक रमेश कुमार भट्टराईले बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिको तीव्र वृद्धि भइरहेकाले त्यसको व्यवस्थापन आवश्यक रहेको बताए। उनले सरकारको पछिल्लो नीति तथा कार्यक्रममा पनि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना आवश्यक रहेको उल्लेख गर्दै, नेक्सजेन म्यानेजमेन्टले आफ्नो पूँजी वृद्धि गरी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने निर्णय लिएको जानकारी दिए।

सभाबाट पारित निर्णयअनुसार, कम्पनीको अधिकृत पूँजी अब १ अर्ब रुपैयाँ ९१०० करोड० पुग्नेछ भने तत्काल जारी पूँजी ५० करोड हुनेछ। साथै, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गरी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिनेछ।

नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका समस्याग्रस्त ऋणीहरूको कर्पोरेट सल्लाहकारको रूपमा काम गर्दै आएको छ। यसले निष्कृय कर्जा व्यवस्थापन, पुनः सञ्चालन तथा बिक्री प्रक्रिया सहज बनाउन सहयोग गर्दै आएको छ। कम्पनी पूर्व बैंकरहरूको लगानीमा स्थापना गरिएको हो।

सभाको समापन गर्दै अध्यक्ष मिश्रले विश्वका धेरै मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनीहरूले निष्कृय कर्जा व्यवस्थापनमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई सहयोग पुर्‍याउँदै आएको बताए। नेपालको वर्तमान आर्थिक परिवेशमा पनि यस्ता कम्पनीहरू अत्यावश्यक रहेको उल्लेख गर्दै, नेक्सजेन म्यानेजमेन्टले यस क्षेत्रमा अग्रणी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। उनले सभामा सक्रिय सहभागिता जनाएका सबै संस्थापक तथा प्रतिनिधिहरूलाई धन्यवाद दिएका थिए।