Dhulikhel Eco Banner new

मधेसको बजेट परम्परागत आयो : अध्यक्ष लाठ

6.99K
shares

काठमाडौं, ३ असार । मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट पराम्परागत रुपमै आएको उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले बताएका छन् ।

उनले केटिएम भ्वाइससँग कुरा गर्दै बजेट परम्परागत ढंगले नै आएको प्रतिक्रिया दिएका हुन् । ‘मधेस प्रदेश सरकारले ल्याएको बजेट परम्परागत नै छ, मन्त्रालयमा रकम हेरफेर भएको छ, बाँकि लगभग उस्तै रहेको छ, त्यस्तोे नयाँ कुरा बजेटले केहि समावेस गरेको छैन,’ अध्यक्ष लाठले भने ।

विगत ४ वर्षको बजेटलाई हेर्दा मधेस प्रदेशले बजेट खर्च गर्न नसकेको लाठको भनाइ छ । यो पटको बजेटमा समेत खर्च हुनेमा उनले आशंका व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘विगत ४ वर्षको बजेट हेर्दा खासै खर्च गर्न सकेको छैन, यो वर्ष कसरी काम हुन्छ त्यसको आधामा मात्र बजेटको बारेमा खुलेर भन्न सकिन्छ ।’ प्रदेशले प्राधिकरणको योजना सकारात्मक भएको लाठको भनाइ छ । ‘विरगन्ज र जनकपुर प्राधिकरणमा ३० करोड छुट्याएको छ त्यो सकारात्मक पक्ष हो, तर प्राधिकरण कुनै योजना सार्वजनिक गरेको छैन, अबको केहि दिनमा योजना समेत आउछ होला,’ उनले भने ।

कृषि क्षेत्रलाई प्राथामिता दिएकोमा लाठले प्रसंसा गरेका छन् । उनले भनेका छन्, ‘कृषि, खानेपानी जस्तो क्षेत्रमा बजेट छुट्याएको छ त्यो बजेटको राम्रो पक्ष हो ।’ प्रदेश सरकारले उद्योगका लागि कुनै योजना नल्याएको लाठको गुनासो छ ।

कुनै पनि देशको विकासका लागि मुख्य भनेको उद्योगधन्दा हो, व्यवसाय हो तर सरकारले त्यस तर्फ खासै ध्यान दिएको जस्तो देखिने अध्यक्ष लाठले भने । ‘उद्योगका लागि कुनै योजना ल्याएको छैन, हामीलाई लागिरहेको थियो यो सरकारले खरिद गरेरै भएपनि औद्योगीक क्षेत्र बनाउछ भनेर तर त्यस्तो केहि आएन ।’

बजेट केहि मात्रामा बितरणमुखी भएको उनको ठम्याई छ । बजेट चुनावलाई लक्षित गरेको प्रति उनले संकेत गरेका छन् ।

आगामी आर्थिक वर्षको लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री शैलेन्द्र साहले प्रस्तुत गरेको बजेटममा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरेका छन् ।

साहले वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय, प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ३५ करोड विनियोजन गरिएको बताएका छन् ।