Dhulikhel Eco Banner new

समस्याग्रस्त सहकारीसहित २१ वटा कम्पनीहरू कर छलनमा, मध्यस्तरीय करदाता कार्यालयको १५ दिने अल्टिमेटम

3.19K
shares

काठमाडौं, १४ जेठ । समयमा कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले २१ वटा कम्पनीलाई १५ दिनभित्र बक्यौता कर तिर्न अल्टिमेटम दिएको छ। तोकिएको समयमा कर, मूल्य अभिवृद्धि कर भ्याट र अन्तःशुल्क नबुझाए कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ।

कर नतिर्ने कम्पनीहरूमा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी र शिखरदीप बहुउद्देश्यीय सहकारी पनि छन्, जुन सहकारीहरू हाल समस्याग्रस्त घोषित भएका छन्। त्यसैगरी माउन्ट एभरेस्ट ब्रुअरी, सान्भी इन्टरनेशनल, विशाल सिमेन्ट, पोखराको सेलवेज डिपार्टमेन्टल स्टोर र गोरखा डिपार्टमेन्टल स्टोर समेत सूचीमा परेका छन्।

अन्य कम्पनीहरूमा डिभाइव ट्रिम नेटवर्क, मस्टा ग्रुप, दानीखोले इन्टरप्राइजेज, एड्भान्स केमिकल इन्डष्ट्रिज, भुसाल केवल एण्ड वायर इन्डष्ट्रिज, लोकेन्द्र इन्टरप्राइजेज, स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इञ्जिनियरिङ, श्यामबाबा राइस एण्ड फ्लोर मिल, चजियाङ्ग हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ, बज्रयोगिनी हार्डवेयर, गुआंग्डोंग युवानियन रमन ज्वाइन्ट भेञ्चर, एसएनजी एग्रो, बज्रगुरु कन्स्ट्रक्सनजस्ता व्यवसाय समेटिएका छन्।

कर कार्यालयका अनुसार, ती कम्पनीहरूलाई कर तिर्न विभिन्न मितिमा टेलिफोन सम्पर्क, ताकेता, संकलन भ्रमण, छलफल र पत्राचारसमेत गरिए पनि अहिलेसम्म बक्यौता रकम दाखिला भएको छैन। अब पनि समयमा कर नतिरे कानुनअनुसार असुली प्रक्रिया अगाडि बढाइने कार्यालयको भनाइ छ।