गभर्नरको सम्पत्तिः ४५ लाखको सुन, १५ लाखको हिरा
वि.सं.२०८२ असार ११ बुधवार १२:३६
shares

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरण अनुसार, गभर्नर पौडेलसँग सुन, हिरा, बैंक बचत, शेयर लगानी, घरजग्गा र गाडीसमेत उल्लेख छन्।
गभर्नर पौडेलसँग ४५ तोला सुन र करिब १५ लाख रुपैयाँ बराबरको हिरा रहेको छ। सुनलाई पैतृक सम्पत्ति र हिरालाई स्वआर्जनका रूपमा उल्लेख गरिएको छ। उनी र उनकी श्रीमती प्रतिभा शर्माको नाममा जम्मा २० लाख ६८ हजार रुपैयाँ बराबरको बैंक बचत रहेको छ। बचत सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक लगायतमा गरिएको छ। त्यसैगरी, पौडेलको नाममा रहेको डलर खातामा ६६ अमेरिकी डलर र उनकी पत्नीको खातामा ४,४४६ डलर रहेको उल्लेख गरिएको छ, जसको नेपाली रूपान्तरण करिब ६ लाख २२ हजार रुपैयाँ हुन्छ।
गभर्नरकी पत्नी प्रतिभा शर्माको नाममा ललितपुरको भैंसेपाटीमा रहेको ५ आना २ दामको जग्गामा निर्माण गरिएको २७९५ वर्गफुटको घर छ। यो सम्पत्ति १ करोड ५५ लाख रुपैयाँमा खरीद गरिएको हो। त्यसैगरी, नवलपरासीको गैँडाकोटमा रहेको अर्को घरजग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको उल्लेख छ। साथै, गभर्नर पत्नीको नाममा ४४ लाख रुपैयाँमा खरीद गरिएको सुजुकी ब्रान्डको कार पनि रहेको छ । जुन २०७७ सालको भदौ महिनामा किनेको बताइएको छ।
गभर्नर पौडेलको नाममा जलविद्युत् र लगानी कम्पनीहरूमा गरी कुल १५ लाख ३६ हजार ५८९ कित्ता सेयर रहेको विवरणमा उल्लेख छ। सानिमा बैंकमा प्रवर्धक शेयरका रूपमा २ लाख ४४ हजार १७६ कित्ता शेयर रहेको छ । जसको बजार मूल्य करिब २ करोड ४४ लाख रुपैयाँ बराबरको छ। यसबाहेक, सानिमा माइ हाइड्रो, मिडल तमोर हाइड्रो, ग्लोबे प्रा.लि, संयुक्त हाइड्रोपावर र चितवन इनर्जीमा समेत उनी तथा उनकी पत्नीको नाममा ठुलो परिमाणमा शेयर लगानी छ।


















