दक्षिण अफ्रिकी नवनियुक्त राजदूतको नेपाल आगमन
वि.सं.२०८२ असार ११ बुधवार १२:३८
shares

काठमाडौं, ११ असार । नेपालका लागि दक्षिण अफ्रिकी गणराज्यका नवनियुक्त राजदूत महामहिम प्राध्यापक अनिल सुकलालको नेपाल आगमन अवसरमा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
नेपालका मानार्थ वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले ललितपुरस्थित वाणिज्यदूत कार्यालयमा आयोजित विशेष समारोहमा राजदूत सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरे।
समारोहको क्रममा दुवै पक्षबीच नेपाल र दक्षिण अफ्रिकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल भएको थियो। विशेषगरी व्यापारिक अवसरहरू पहिचान गर्दै भविष्यमा सम्भावित साझेदारीहरू विस्तार गर्न सकिने विषयमा छलफल केन्द्रित रहेको थियो।
राजदूत सुकलालको यो भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने अवसरको रूपमा हेरिएको छ। छलफलमा उच्चस्तरीय प्रतिनिधिमण्डलहरूको आदानप्रदान, अनुभव साझा गर्ने कार्यक्रमहरू, तथा दीर्घकालीन सहयोगका सम्भावनाहरूलाई मूर्तरूप दिनका लागि रणनीतिक पहलहरूबारे समेत चर्चा भएको थियो।


















