वित्तीय क्षेत्रका ट्रेड युनियन नेताहरूका लागि सामूहिक बार्गेनिङ सीप अभिवृद्धि तालिम असार १३ गते हुने
वि.सं.२०८२ असार १२ बिहीवार १४:५५
shares

काठमाडौं, १२ असार । नेपाल वित्तीय संस्था कर्मचारी संघको आयोजनामा वित्तीय क्षेत्रका ट्रेड युनियन नेताहरूको सामूहिक बार्गेनिङ (संघीय वार्ता) सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले एकदिने तालिम कार्यक्रम आयोजना गर्ने भएको छ।
‘वित्तीय क्षेत्रका ट्रेड युनियन नेताहरूका लागि सामूहिक बार्गेनिङ सीप अभिवृद्धि तालिम’ शीर्षकमा सञ्चालन गरिने यो कार्यक्रम २०८२ असार १३ गते, शुक्रवार, काठमाडौंको बत्तीसपुतलीस्थित होटल तपसमा हुने भएको हो।
उक्त तालिम कार्यक्रमको उद्घाटन पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने संघले जनाएको छ।
नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार लगायतका वित्तीय संस्थाहरूमा कार्यरत २० हजारभन्दा बढी कर्मचारीलाई संगठित गर्दै आएको यो संघ हाल ५१ वटा प्रतिष्ठानस्तरका युनियनहरूको छाता संगठनको रूपमा क्रियाशील छ। संघले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूको पेशागत हक–हितको संरक्षण, पारदर्शिता, सुशासनको प्रवर्द्धन र मर्यादित कामको सुनिश्चितताका लागि निरन्तर क्रियाशील रहँदै आएको जनाएको छ।
संघका महासचिव विकास श्रेष्ठका अनुसार, उक्त तालिमको मुख्य उद्देश्य ट्रेड युनियन नेताहरूको बार्गेनिङ क्षमता विकास गरी श्रमिक अधिकारको संस्थागत संरक्षण तथा श्रमिकको आवाजलाई थप सशक्त बनाउने हो।
















