Dhulikhel Eco Banner new

पुँजीबजार नियमन सुधारको प्रयास भइरहेको छः अध्यक्ष श्रेष्ठ

1.9K
shares

काठमाडौं, २६ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लेखा समिति र अर्थ समितिबाट आएका फरक आशयका निर्देशनले आईपीओ जारी प्रक्रियामा अन्योलता सिर्जना भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै श्रेष्ठले दुई समितिका परस्पर विरोधी निर्देशनले नियामक संस्थाको काम प्रभावित भएको बताएका हुन्। उनले स्पष्ट निर्देशन अर्थ समितिबाटै आउनुपर्नेमा जोड दिए।

श्रेष्ठले पुँजीबजार द्रुत गतिमा विस्तार भए पनि त्यसको नियमन भने कमजोर रहेको स्वीकार गरे। आफू अध्यक्ष बनेको ६ महिनामा नियमन सुधारको पहल भइरहेको बताए।

उनका अनुसार नयाँ स्टक एक्सचेञ्जसम्बन्धी चिन्तामणि शिवाकोटीको प्रतिवेदन कार्यान्वयनको चरणमा पुगिसकेको छ। उक्त प्रतिवेदनले नयाँ स्टक एक्सचेञ्ज स्थापना उपयुक्त हुने सिफारिस गरेको छ।

श्रेष्ठले नेप्सेलाई पुनःसंरचना गर्ने तयारी भइरहेको जानकारी दिँदै भने, “पुँजीबजारको विकास त तीव्र गतिमा भइरहेको छ, तर नियमन त्यहीअनुसार हुन सकेको छैन, हामी सुदृढ बनाउने प्रक्रियामा छौं।”

उनका अनुसार हालसम्म तीनवटा नयाँ स्टक एक्सचेञ्ज खोल्न प्रस्ताव आइसकेका छन्। ती प्रस्तावहरू मूल्यांकनको चरणमा रहेको र कुनै कानुनी रोकतोक नरहेको बताए।

बोर्डले नयाँ एक्सचेञ्जको अनुमति दिन सके, प्रतिस्पर्धी वातावरणमार्फत सेवा विस्तार, दक्षता वृद्धि र पुँजीबजारको पहुँच व्यापक हुने अपेक्षा गरिएको छ।