एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता संस्थापक शेयर लिलामीमा
वि.सं.२०७९ असार ५ आइतवार १३:०४
shares

काठमाडौं, ५ असार । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले ३ करोड ३० लाख कित्ता संस्थापक शेयर आज अर्थात् असार ५ गतेदेखि लिलामीमा बिक्री खुला गरेकोे छ ।
कम्पनीले २०७८ साल साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दा वितरण हुन नसकेको उक्त परिमाणको शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेकोे हो ।
पहिलो चरणमा विक्री खुला गर्दा न्यूनतम १ करोड कित्ताको सीमाका कारण वितरण हुन सकेको यो शेयर बिक्रीकै लागि कम्पनीले न्यूनतम १ करोडको सीमाको व्यवस्था परिवर्तनका लागि नियमावली संशोधन गरेको थियो ।
नियमावली संशोधनपश्चात कम्पनीले यो शेयर विक्री खुला गर्दा बिक्रीकै क्रममा नियामक निकायको निर्देशनमा रोक्का गरेको थियो । नियामकको निर्देशनमै कम्पनीले पुनः यो शेयरको लिलामी प्रक्रिया अघि बढाएको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । खरीद गर्न इच्छुक व्यक्तिहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
यो शेयर खरीदका लागि न्यूनतम १०० कित्ताको सीमा तोकिएको छ भने अधिकतमको लागि कुनै हद लाग्ने छैन । यो शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।



















