Dhulikhel Eco Banner new

नेपाल एसबिआई बैंकको ऋणपत्र बिक्री खुला

1.91K
shares

काठमाडौं,३० असार। नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्काशन गरेको हो ।

बैंकले कुल ३ अर्ब बराबरका ३० लाख कित्ता ऋणपत्र प्रतिकित्ता एक हजार अंकित दरमा जारी गर्न लागेको हो। जसमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता (१ अर्ब ८० करोड बराबर) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ।

सार्वजनिक निष्कासनतर्फ उपलब्ध १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण उपलब्ध कित्ताका लागि पनि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गतेसम्म हुनेछ।

यस ऋणपत्र निष्कासनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखा कार्यालयहरु, वा ‘मेरो शेयर’ अनलाइन पोर्टलमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।