बन्दीपुर केबुलकारले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने
वि.सं.२०८२ असार ३० सोमवार १०:२५
shares

काठमाडौं, ३० असार । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्।
कम्पनीले कुल २ अर्ब ८३ करोड रुपैयाँ बराबरको जारी पूँजीमध्ये २०.७० प्रतिशत शेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो। प्रत्येक शेयरको अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ। आयोजनाबाट प्रभावित स्थानीयहरूका लागि ५ लाख ६६ हजार कित्ता शेयर छुट्याइएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४ सय कित्ता शेयर छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् र यदि सो अवधिमा सबै शेयर बिक्री नभएमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयबासीहरूले साउन ६ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ। आयोजनाबाट प्रभावित स्थानीयबासीहरूले केबुलकारको कार्यालय, आँबुखैरेनी गाउँपालिका कार्यालय, भानु नगरपालिका वडा नम्बर १ कार्यालय र पालुङटार नगरपालिका वडा नम्बर ७ को कार्यालयबाट आवेदन फारम लिन र त्यहीँ बुझाउन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।
बन्दीपुरमा व्यावसायिक रूपमा सञ्चालनमा आएको केबुलकार सेवा नै कम्पनीको मुख्य व्यवसाय हो। कम्पनीले केयर रेटिङ नेपालबाट ‘बीबी’ ग्रेडको रेटिङ प्राप्त गरेको छ । जसले कम्पनीको दायित्व बहन क्षमतालाई मध्यमस्तरको संकेत गर्छ। ब्याजसहित आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। गएको चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ऋणात्मक २ रुपैयाँ ८४ पैसा देखिएको छ। कम्पनीको सञ्चित नोक्सानी १० करोड ६ लाख रुपैयाँ रहेको छ। आईपीओ बिक्री प्रबन्धकको रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
















