Dhulikhel Eco Banner new

आर्थिक वर्ष २०८१/८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

3.42K
shares

काठमाडौं, १ साउन । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो। यो वर्ष एक खर्ब २० अर्ब रुपैयाँले बढी राजस्व उठेको हो । जसले ११.३३ प्रतिशतको वृद्धिदर देखाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा सुरुमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो। तर अर्धवार्षिक समीक्षापछि संशोधन गर्दै १२ खर्ब ८६ अर्ब रुपैयाँमा लक्ष्य घटाइएको थियो। संशोधित लक्ष्यको ९१.६० प्रतिशत राजस्व संकलन गर्न सफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद् र अन्तर्राष्ट्रिय चुनौतीबीच पनि संकलन उत्साहजनक रुपमा भएको हो। ‘तयारी सुरु गरिसकेका छौं, चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं,’खत्रीले भने।

चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। पछिल्ला वर्षहरूमा नेपालको राजस्व संकलन क्रमशः बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०७१/७२ मा ४ खर्ब ५ अर्ब रुपैयाँ संकलन भएको थियो भने २०७२/७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/’७४ मा ६ खर्ब ९ अर्ब, २०७४/७५ मा ७ खर्ब २६ अर्ब, २०७५/७६ मा ८ खर्ब २९ अर्ब संकलन भएको थियो। त्यसपछि २०७६/७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/७९ मा १० खर्ब ६६ अर्ब, २०७९/८० मा ९ खर्ब ५७ अर्ब, र २०८०/८१ मा १० खर्ब ५८ अर्ब संकलन भएको थियो।