अब विदेशी मुद्रा सटहीका लागि बैंक खाता अनिवार्य
वि.सं.२०८२ साउन २ शुक्रवार १०:४९
shares

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले अबदेखि विदेशी मुद्रा सटही गर्न बैंक खाता अनिवार्य बनाएको छ। बिहीवार सार्वजनिक गरिएको परिपत्रमार्फत राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
नयाँ नियमअनुसार राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणका लागि उपलब्ध गराइने सटही सुविधा अब व्यक्तिको परिवत्र्य विदेशी मुद्रा खातामा जम्मा गरी मात्र उपलब्ध गराइनेछ। आवश्यक परेमा नयाँ खाता खोली पनि सो सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।
यससँगै, भारत बाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकले राहदानी देखाएर प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्रा साट्न सक्ने व्यवस्था पनि कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको प्रयोगमा पारदर्शिता, ट्र्याकिङ, र वित्तीय अनुशासन कायम राख्न नयाँ व्यवस्था आवश्यक भएको हो। बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त परिपत्रअनुसार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।


















