Dhulikhel Eco Banner new

एनआरएनए नर्वेले पायो महिला अध्यक्ष, ऐतिहासिक रेकर्ड बनाउदै थापा निर्वाचित

22.1K
shares

ओस्लो, जुलाई २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा श्रद्धा सिंह थापा आगामी कार्यकाल २०२५/२०२७ का लागि अध्यक्षमा निर्वाचित भएकी छन् । उनले २८६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी पवित्र बस्नेतलाई केवल ५ मतले पछि पारिन्। बस्नेतले २८१ मत प्राप्त गरे ।

एनआरएनए नर्वेले पहिलो पटक महिला अध्यक्ष पाएको हो । महिला अध्यक्ष र उमेरका हिसाबले पनि अहिलेसम्मकै कान्छी भएकाले थापाले ऐतिहासिक रेकर्ड समेत राखेकी छिन् ।

उपाध्यक्ष पदमा देब भक्त श्रेष्ठ २०४ मत ल्याएर विजयी भए भने महासचिव पदमा पशुपति प्रसाद भण्डारीले ३५१ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी वरुणानन्द पौडेलले २०४ मत मात्र पाए ।

यसै गरी असीम लम्साल उपाध्यक्ष, सागर घिसिङ कोषाध्यक्ष, रीता परियार सह-कोषाध्यक्ष चयन भएका छन् भने सदस्यमा गोपाल प्रसाद गैरे र चन्द्रा कुमारी चन्द सदस्य, युवा संयोजकमा प्रदीप शर्मा, सचिवमा बसन्त पौडेल र आईसीसी सदस्यमा ईश्वरी प्रसाद खनाल निर्वाचित भएका छन्।

अधिवेशन करिब दुई घण्टासम्म आर्थिक र वार्षिक प्रतिवेदनमाथि व्यापक छलफलसहित सम्पन्न भएको हो । प्रतिवेदनमा केही बुँदाहरु पछि मिलाउने गरी सर्वसम्मतिले पारित समेत भएको छ । निर्वाचन स्वच्छ, पारदर्शी र उत्साहजनक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। एनआरएनए नर्वेले पहिलो पटक महिला अध्यक्ष पाएको छ ।

अधिवेशनको प्रमुख अतिथि डेनमार्कस्थित नेपाली राजदूत सुम्निमा तुलाधर थिइन् । कार्यक्रममा एनआरएनए नर्वेका संरक्षक, सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, यूरोप उपसंयोजक राजु आर्यल, आईसीसी सदस्य पवित्र बस्नेत, अभियन्ताहरू र पत्रकारहरूकाे बाक्लाे उपस्थिति रहेको थियो ।

वर्तमान अध्यक्ष विष्णु गौतमको सभापतित्वमा सम्पन्न अधिवेशन आईसीसी सदस्य इश्वरी प्रसाद खनालले सञ्चालन गरेका थिए ।अधिवेशनको उद्घाटन अध्यक्ष गौतम र संघका संरक्षकहरुले संयुक्त रुपमा गरेका थिए । अध्यक्ष गाैतमले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्वच्छ तथा पारदर्शी रुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेलेकोमा निर्वाचन समितिलाई धन्यबाद दिए । उनले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दै कार्यसमिति विघटन गरिएको घोषणा समेत गरे।

गौतम नेतृत्वको निवर्तमान समिति विगठन पश्चात निर्वाचन समितिका संयोजक निल अर्यालले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

उद्घाटन मन्तव्यमा राजदूत तुलाधरले विदेशमा रहेर पनि नेपालप्रति गहिरो माया, चासो र दायित्वबोध राख्ने एनआरएनहरूप्रति आभार व्यक्त गरिन् । उनले नेपाली समुदायले आफ्नो पहिचान, र सांस्कृतिक मूल्य जोगाउँदै आएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको समेत प्रशंसा गरिन् ।

“नेपाली कला, संस्कृति, रितिरिवाज जोगाउन र प्रवद्र्धन गर्न प्रवासी नेपालीहरूले पुर्‍याउँदै आएको योगदान प्रेरणादायी छ,” राजदूत तुलाधरले भनिन्, “यस्ता प्रयासहरूले अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान थप मजबुत बनाउँछ।”