जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन खुला
वि.सं.२०८२ साउन १५ बिहीवार ११:०७
shares

काठमाडौं, १५ साउन । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशतका दरले हकप्रद शेयर जारी गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यसअनुसार कम्पनीले कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर जारी गरेको छ । कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ रहेको छ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार असार ५ गतेसम्म नेप्सेमा शेयर कारोबार भई नाम रहेका शेयरधनीहरूलाई आवेदन दिन मिल्नेछ। हकप्रद शेयरका लागि भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीको हकप्रद निष्कासनको क्रेडिट रेटिङ केयर रेटिङ नेपालले गरेको छ। रेटिङमा कम्पनीलाई “केयर एनपी बी इस्यूअर रेटिङ प्रदान गरिएको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले उक्त क्यापिटल, जोशी हाइड्रोपावरको कार्यालय तथा लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि(आस्बा सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाबाट सि(आस्बा प्रणालीमार्फत वा ‘मेरो शेयर’ अनलाइन पोर्टल प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

















