Dhulikhel Eco Banner new

बैंकिङ कसूरमा फरार रहेका दुई प्रतिवादी काठमाडौंबाट पक्राउ

2.05K
shares

काठमाडौं, १५ साउन । बैंकिङ कसूर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५, स्वयम्भू बसोबास गर्दै आएका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–१ घर भएका ३३ वर्षीय सुकराम लामा तामाङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ बस्ने, सुर्खेत लेकवेशी नगरपालिका–१ घर भएका ३७ वर्षीय लक्ष्मी प्रसाद सापकोटा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु बाट खटिएको प्रहरी टोलीले उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसलाअनुसार १५ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद, र ६० हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउने सजाय सुनाइएका सुकरामलाई मंगलबार काठमाडौं महानगरपालिका–८, गौशाला क्षेत्रबाट पक्राउ गरेको हो।

त्यस्तै, सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका लक्ष्मी प्रसाद सापकोटालाई सोमबार बुढानिलकण्ठ नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुकराम लामा तामाङलाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने लक्ष्मी प्रसाद सापकोटालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको छ।