१३३.९५५ ले बढ्यो माउन्टेन इनर्जीको नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी
वि.सं.२०८२ साउन २८ बुधवार १३:०४
shares

काठमाडौं, २८ साउन । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १३३.९५ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ। सार्वजनिक गरिएको अपरिस्कृत वित्तीय विवरण अनुसार, कम्पनीले यस अवधिमा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो वर्ष सोही अवधिमा यो नाफा २६ करोड ८९ लाख रुपैयाँ मात्र थियो।
कम्पनीको मुख्य आम्दानी स्रोत विद्युत बिक्रीबाट यस वर्ष १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ प्राप्त भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.९२ प्रतिशतले वृद्धि हो। साथै, ८ करोड ६ लाख रुपैयाँ बीमा दाबीबाट प्राप्त गर्नु र ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाखमा झर्नुले पनि नाफा वृद्धिमा योगदान पुर्याएको हो।
कम्पनीको सञ्चालन मुनाफा पनि उल्लेखनीय रुपमा ५४ करोड ३० लाखबाट बढेर ८९ करोड २१ लाख पुगेको छ। हाल माउन्टेन इनर्जीको चुक्ता पूँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निङ्स १ अर्ब ३५ करोड पुगेको छ।
यो अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँमा पुगेको छ भने प्रति शेयर नेटवर्थ १४८.२० बाट १५२.११ रुपैयाँमा पुगेको छ।
माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाट क्षमताको ताँदीखोला हाइड्रो परियोजनाबाट नियमित रुपमा विद्युत उत्पादन भइरहेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार रुपमा लाभांश वितरण गर्दै आएको छ।
















