Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थामा २ अर्ब ७७ करोड मुद्दती निक्षेप लगानी

1.91K
shares

काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले भदौ ८ गते राति १२ बजेसम्म ब्याजदरका लागि प्रतिस्पर्धात्मक प्रस्ताव पेश गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ। यो लगानी भदौ २६ गतेदेखि लागू हुने गरी ३६६ दिन अवधिको मुद्दती निक्षेपको रूपमा गरिनेछ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ४१ करोड ६५ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १३ करोड ८८ लाख रुपैयाँ निक्षेप राख्ने जनाएको छ।

ब्याजदर प्रस्ताव गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सूचना तथा उल्लेखित सम्पूर्ण शर्तहरू पूरा गर्नुपर्नेछ।

संस्थाहरूको कायम पुँजी न्यूनतम पुँजीको अनुपात बर्फरसहित कायम गरिएको हुनुपर्नेछ। निष्क्रिय कर्जा एनपीएल अनुपात ८ प्रतिशत नबढेको र खुद एनपीएल अनुपात ३ प्रतिशत भित्रको हुनुपर्नेछ।

तरल सम्पत्ति अनुपात र कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्रको हुनुपर्नेछ। अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान विवरण अनुसार बैंक खुद मुनाफामा रहेको हुनुपर्नेछ।

यदि बैंक वा वित्तीय संस्था शिघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम कारबाहीमा परेका संस्थाहरू समस्याग्रस्त घोषणा भएको भए पनि त्यसको फुकुवापछि ६ महिना बितेको हुनुपर्नेछ।

साथै, सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्ने र प्रस्ताव तय गरिएको ढाँचामा इमेलमार्फत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले इमेलमार्फत प्रस्ताव पेश गर्न अन्तिम म्याद भदौ ९ गते राति १२ बजेसम्मको तोकेको छ।