भव्यताका साथ सम्पन्न भयो नाडा अटो शो २०२५, १ लाख ७६ हजारभन्दा बढीको सहभागिता
वि.सं.२०८२ भदौ ९ सोमवार ११:२१
shares

काठमाडौं, ९ भदौ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२५ भदौ ८ गते भव्यताका साथ सम्पन्न भएको छ। उक्त १७औं संस्करणको नाडा अटो शो २०२५ मा कुल १ हजार ७६ हजार ७८९ दर्शकहरुले अवलोकन गरेका छन्। प्रदर्शनी अत्यन्त व्यवस्थित रुपमा सञ्चालन गरिएको थियो। उत्कृष्ट शैलीमा सजिएका स्टल र अन्तर्राष्ट्रिय स्तरका नयाँ मोडेलका सवारी साधनहरुले यस वर्षको शोलाई गत वर्षहरु भन्दा भव्य बनाएको छ।

उड्ने सवारी साधन, रोबोटिक म्यान र डग प्रदर्शनका साथै विभिन्न नयाँ ब्राण्डका विद्युत सवारी साधनहरुले ठूलो भीड जम्मा गरेका थिए। दर्शकहरुका अनुसार यो अटो शो अत्यन्त भव्य र बृहत् भएको छ। सुस्ताइरहेको अटोमोबाइल व्यवसायमा समेत यस अटो शोले नयाँ जीवन पाएको छ र यसले देशको अर्थव्यवस्थामा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस अटो शोको अवधिमा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु पनि सञ्चालन गरिएका थिए। पहिलो दिन अन्तर्राष्ट्रिय अटो ट्रेड संवाद कार्यक्रम भएको थियो, जसको प्रमुख अतिथि अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चरर्स एसोसिएसनका कार्य समिति सदस्य रितुञ्च गुप्ता र सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफेक्चरर्स (सियाम) का उपकार्यकारी निर्देशक अतानु गांगुली थिए।

नाडा अटो शो को दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फ्युचर, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
तेस्रो दिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कर्जा नीति र अटोमोबाइल बजारको दिर्घकालीन निकास विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। चौथो दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराई र पूर्व नेपाल राष्ट्र बैंक गर्भनर दिपेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी र युथ मोबिलिटी तथा राष्ट्रिय सपना विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो । पाँचौ दिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारीको आतिथ्यमा सडक र यातायात विषयमा अन्तरक्रिया सम्पन्न भयो भने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको आतिथ्यमा मेड इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

समापनकै दिन नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने प्रस्ताव सहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने निर्णय गरेको छ। यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ।
यस अटो शोमा उत्कृष्ट स्टलहरू पनि चयन गरिएको थियो। चारपहिया सवारी साधनको उत्कृष्ट स्टल दिपाल एमएडब्लु अटो कर्प प्रा।लि।, दुईपहिया सवारी साधनको उत्कृष्ट स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि., लाइट कमर्शियल भेहिकलको बेष्ट स्टल मन्क्ष्प श्री अद्धेत इभि प्रा.लि., र बेष्ट सपोर्टिङ्ग स्टल हिट प्रा।लि।ले जितेका छन्। बैंक तथा इन्स्योरेन्स क्षेत्रबाट श्री ग्लोबल आएमइ बैंक लिमिटेड उत्कृष्ट स्टलको पुरस्कार जितेको छ। उत्कृष्ट स्टल छनोटका लागि सहकोषाध्यक्ष पंकज अग्रवाल, नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेल, इमानका अध्यक्ष रोयल आचार्य र ग्लोबल एक्सपोजिशन एण्ड मेनेजमेण्टका प्रवन्ध निर्देशक सन्तोष क्षेत्री सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको थियो।
प्रदर्शनीको ट्राफिक व्यवस्थापन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको थियो भने फायर सेफ्टी कार्य नाडा सदस्य कम्पनी हिट प्रा।लिले गरेको थियो। प्रचार प्रसार कार्य एभरेष्ट एडले सम्हालेको थियो। नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग पुर्याउने सबै सरोकारवालालाई धन्यवाद दिएका छन्।

नाडा अटो शो २०२५ का क्रममा लायन्स क्लब अफ काठमाडौँसँगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो। छ दिनसम्म चलेको प्रदर्शनीमा देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूले पनि अवलोकन गरेका थिए। यसमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालु, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभा सदस्यहरु माधवकुमार नेपाल, राजेन्द्र लिङ्देन, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल, गणेश पराजुली, लोकसेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मी, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतले पनि अवलोकन गरेका थिए।

त्यसैगरी अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले समेत प्रदर्शन अवलोकन गरेका थिए।

संघ संस्थाहरूबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बैंकर्स एसोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी, युनाइटेड अजोद इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेपाली यङ्ग इन्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे, महिला राष्ट्रिय फुटबल कप्तान सबित्रा भण्डारी, कलाकार सन्दिप क्षेत्रीले समेत नाडा अटो शो २०२५ को अवलोकन गरेका छन्।
अन्तर्राष्ट्रिय क्षेत्रबाट अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एसोसिएसनका कार्य समिति सदस्य रितुञ्च गुप्ता र सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफेक्चर्सका उपकार्यकारी निर्देशक अतानु गांगुलीको प्रतिनिधिमण्डलले पनि नाडा अटो शो अवलोकन गरेको थियो।

















