Dhulikhel Eco Banner new

लुम्बिनी लायन्सले एनपीएलका लागि प्रतिभा छनोट कार्यक्रम घोषणा

2.46K
shares

काठमाडौं, १३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि नयाँ प्रतिभावान युवा खेलाडीहरू खोज्ने उद्देश्यले प्रतिभा छनोट कार्यक्रम आयोजना गर्ने भएको छ ।

जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार, बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुने बताइएको छ। कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ ।

कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन् । तीमध्ये एक जनालाई मुख्य टोलीमा स्थान दिइनेछ भने दुई जनालाई विकास टोलीमा राखिने लुम्बिनी लायन्सले जनाएको छ ।

छनोट भएका खेलाडीहरूले आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउनेछन् । लुम्बिनी लायन्सले यसअघि नै दोस्रो संस्करणका लागि छ जना प्रमुख खेलाडीहरूलाई कायम (रिटेन) गरिसकेको छ। क्लबले यो कार्यक्रमबाट देशभरका नयाँ र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गरी नेपाली क्रिकेटको स्तरलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरेको छ ।

कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहने लुम्बिनी लायन्सले जनाएको छ ।