असोजसम्ममा झन्डै २ लाख करदाता थप, प्यान संख्या ७१ लाख नजिक
वि.सं.२०८२ कात्तिक १७ सोमवार १६:३९
shares

काठमाडौं, १७ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा करदाता संख्या झन्डै २ लाखले वृद्धि भएको छ। अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिने करदाता १ लाख ७२ हजार १९५ पुगेका छन्।
मन्त्रालयका विवरण अनुसार मूल्य अभिवृद्धि कर (भ्याट)मा ६ हजार ७७० र अन्तःशूल्कमा ३ हजार १२ करदाता थप भएका छन्। व्यवसायिक प्यान लिने करदाताको संख्या २७ हजार ९५३ र व्यक्तिगत प्यान लिने करदाताको संख्या १ लाख ४३ हजार ७४४ रहेको छ। यसैगरी स्रोतमा कर कट्टी गर्ने निकायले प्यान लिएका करदाताको संख्या ४९८ रहेको छ।
यससँगै देशभर कुल करदाताको संख्या ७१ लाख ७१ हजार ५४५ पुगेको छ। यसमा व्यवसायिक प्यानधारी २० लाख ८८ हजार ७११ र व्यक्तिगत प्यानधारी ५० लाख ४६ हजार ४६६ रहेका छन्। स्रोतमा कर कट्टी गर्ने निकायले प्यान लिएका करदाताको संख्या ३६ हजार ३६८ पुगेको मन्त्रालयले जनाएको छ।
मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाता ३ लाख ५८ हजार ५०५ र अन्तःशूल्कमा दर्ता हुने करदाता १ लाख २८ हजार ९ रहेको छ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। असोज मसान्तसम्मको लक्ष्य ३ खर्ब २१ अर्ब ५३ करोड रहेकोमा संकलन २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ०.३२ प्रतिशत मात्र वृद्धि हो।
















