Dhulikhel Eco Banner new

नेप्से पुनःसंरचनाका लागि मन्त्रिपरिषद्को निर्णय, उच्चस्तरीय समिति गठन

3.64K
shares

काठमाडौं, ३ मंसिर । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली तथा सञ्चालनमा दीर्घकालीन सुधार गर्ने उद्देश्यले उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रकाशजंग केसीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारले नेप्सेमा आधुनिकता, पारदर्शिता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न आवश्यक पूर्वाधार, प्राविधिक सुदृढीकरण तथा संस्थागत पुनर्संरचनाका विषयमा अध्ययन गर्नुपर्ने आवश्यकता औपचारिक रूपमा मान्यता दिँदै अध्ययन प्रक्रिया अघि बढाएको हो। समिति ले नेप्सेको दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजारको नियमन तथा शासन प्रणालीसँगै अन्तर्राष्ट्रिय अभ्यासअनुसार संरचना पुनःनिर्माणका सम्भावनाबारे प्रतिवेदन पेश गर्नेछ।

यससँगै, मन्त्रिपरिषद् बैठकले ‘जेनजी आन्दोलन’ का क्रममा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान स्वीकृत गर्ने निर्णय पनि बैठकबाट भएको छ।