Dhulikhel Eco Banner new

रुद्राक्षको बजारीकरण गर्न प्रदेश १ को चासो

12.4K
shares

काठमाडौं, ११ असार । रुद्राक्षको बजारीकरणका लागि व्यवसायीहरुले सरकारलाई आग्रह गरेका छन् । व्यवसायीहरुको पहलमा मात्रै भइरहेको व्यवसायमा सरकारले पनि सहयोग गर्नु पर्ने भन्दै व्यवसायीहरुले प्रदेश नम्बर १ मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई आग्रह गरेका हुन् ।

मुख्यमन्त्रीसँगको भेटका क्रममा नेपाल रुद्राक्ष व्यवसायी संघका उपाध्यक्ष अगम सिंह राईले बजारीकरण र दक्ष जनशक्तिको अभाव रहेको भन्दै यसलाई सम्बोधन गर्न आग्रह गरेको जानकारी दिए ।

मुख्यमन्त्री राईसँगको भेटमा व्यवसायीको तर्फबाट गुणस्तरीय विरुवा तथा औषधीय गुणको पहिचान गर्नका लागि आग्रह गरिएको उपाध्यक्ष राईले बताए । ‘अहिले नेपालबाट निकासी हुने रुद्राक्षमा अधिकांश कच्चा पदार्थ मात्रै विदेश गइरहेकाले प्रसोधन गर्नका लागि दक्ष जनशक्ति आवश्यक रहेको कुरा व्यवसायीका तर्फबाट जानकारी गरायौँ,’ उपाध्यक्ष राइले भने ।

भेटका क्रममा मुख्यमन्त्री राईले उत्पादनको बजारीकरण र सिपमूलक तालिमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । १ नम्बर प्रदेशले रुद्राक्षको प्रवद्धनका लागि बजेट समेत विनियोजन गरेको भन्दै नेपाल रुद्राक्ष व्यवसायी संघको उपाध्यक्ष अगम सिंह राईसँगको भेटमा मुख्यमन्त्री राईले रुद्राक्षयको बजारीकरणको अति आवश्यक रहेको बताएका छन् । त्यसका लागि अध्ययन गरेर उपयुक्त ठाउँको पहिचान गर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।

प्रदेश नम्बर १ को धेरै जिल्लामा रुद्राक्षको खेती हुने गरेको छ । यसमा भोजपुर, संखुवासभा र धनकुटा लागयत जिल्लामा उत्पादन भएको रुद्राक्षको माग बजारमा धेरै रहेको संघले जनाएको छ । नेपालबाट वार्षिक रुपमा करिब ५ अर्बको रुद्राक्ष निकासी हुने गरेको छ ।

तर पनि यो क्षेत्रमा खासै काम नभएको भन्दै यसलाई प्रवद्र्धन गर्नका लागि संघले आग्रह गर्दै आएको छ ।कोभिडको समयमा भने रुद्राक्ष निकासी करिब ५०-६० करोडको हाराहारीमा मात्रै सिमित भएको छ ।

अहिले नेपालका ४५ जिल्लाका १० हजार भन्दा बढी व्यक्ति यो व्यवसायमा संलग्न रहेका छन् । आगामी आर्थिक वर्षको बजेटमा प्रदेश नम्बर १ ले रुद्राक्ष, अलैँची, अदुवा, चिया, र सुपारीको प्रवद्र्धनका लागि ५ करोड रुपैयाँ विनियोजन समेत गरेको छ । यो रकमबाट यो व्यवसायमा केही मात्रामा भए पनि सकारात्मक प्रभाव परेको संघका उपाध्यक्ष राईले बताए ।