Dhulikhel Eco Banner new

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

5.92K
shares

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आफ्नो कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आवेदन आह्वान गरेको हो।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राखिनेछ।

यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले यही पुस ७ गतेभित्र आवेदन दिनुपर्नेछ। सूचनामा उल्लेख भएअनुसार आवेदन दिने संस्थाले तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्नेछ। साथै, निष्क्रिय कर्जा सापटी अनुपात आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सर्त राखिएको छ।

केन्द्रीय बैंकले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरेको छ।