Dhulikhel Eco Banner new

ट्रम्प प्रशासनद्वारा डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम तत्काल स्थगित

7.5K
shares

काठमाडौं, ४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डाइभर्सिटी भिसा (डीभी) ग्रीनकार्ड लट्री कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न व्यक्ति डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीनकार्ड प्राप्त गरेको तथ्य सार्वजनिक भएपछि ट्रम्प प्रशासन डीभी कार्यक्रमप्रति कडा बनेको हो।

केही दिनअघि ब्राउन विश्वविद्यालयमा भएको अन्धाधुन्ध गोली प्रहारमा दुई जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घटनामा संलग्न व्यक्ति ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ नेभ्स भ्यालेन्टी रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। उनी सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी केही समयपछि ग्रीनकार्ड प्राप्त गरेको खुलेको छ।

घटनापछि होमल्याण्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोइमले यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेस ९ग्क्ऋक्ष्क्० लाई डीभी कार्यक्रम तत्काल रोक्न निर्देशन दिइएको जानकारी दिएकी छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत उक्त निर्णय सार्वजनिक गरेकी हुन्।

डाइभर्सिटी भिसा कार्यक्रममार्फत हरेक वर्ष करिब ५० हजार आप्रवासी अमेरिका प्रवेश गर्ने गरेका थिए। यस कार्यक्रमअन्तर्गत अमेरिका सरकारले प्रत्येक वर्ष अक्टोबर–नोभेम्बरमा अनलाइन आवेदन खुला गर्ने चलन थियो, जसमा नेपालसहित विभिन्न देशका लाखौँ आवेदक सहभागी हुने गरेका थिए।

तर आप्रवासन नीतिप्रति कडा देखिँदै आएको ट्रम्प प्रशासनको पछिल्लो निर्णयसँगै डीभी कार्यक्रम स्थगित भएको छ। यसै कारण सन् २०२७ का लागि यस वर्ष खुल्नुपर्ने डीभी कार्यक्रमको अनलाइन आवेदनसमेत हालसम्म खुलाइएको छैन।