Dhulikhel Eco Banner new

धानखेती छाड्दै इलामका किसान, अलैँचीतर्फ बढ्यो आकर्षण

338
shares

काठमाडौं,२६ साउन । इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट १४ रुपैयाँका दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोपेका हुन् ।

अलैँचीले राम्रो मूल्य पाउन थालेपछि उनले अन्नबाली फल्ने बारी मासेर अलैँचीखेती सुरु गरेका हुन् । राजनीति र उत्पादनलाई सँगसँगै जोडेर लैजानका लागि व्यावसायिक अलैँचीखेती सुरु गरेको उनले बताए । आफ्नो व्यवसायबारे बोल्दै उनले भने, ‘हामी राजनीति गर्ने मान्छेको निश्चित आम्दानीको स्रोत त चाहिन्छ, तब मात्रै राजनीतिमा टिक्न सकिन्छ ।’ उत्पादनलाई पनि सँगसँगै जोडेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ पुख्र्यौली थलोमा अलैँचीखेती लगाएको उनले स्पष्ट पारे ।

माइजोगमाई गाउँपालिका–५ का किसान दिनेश नेम्बाङले पनि यस पटक धानखेती मासेर अलैँचीखेती विस्तार गरेका छन् । यस पटक उनले तीन हजार बढी नयाँ अलैँचीको बिरुवा रोपेका छन् । तीन वर्ष पहिले धान फल्ने खेत मासेर अलैँचीखेती सुरु गरेका उनले गत वर्ष १३ मन सुक्खा अलैँची उत्पादन गरे ।

आफ्नो अनुभव साट्दै उनले भने, ‘आम्दानी र उत्पादनको तुलना गर्दा धानले भन्दा अलैँचीले धेरै राम्रो आम्दानी दिने भएकाले अलैँचीखेती विस्तारमा लागेको हुँ ।’ मूल्यबारे थप स्पष्ट पार्दै उनले भने, ‘गत वर्षदेखि मूल्यसमेत राम्रो पाउन थालेको छ, नयाँ बिरुवाबाट उत्पादन हुन थालेपछि आम्दानी बढ्ने अपेक्षा छ ।’ धान खाद्यान्नका लागि महत्वपूर्ण भए पनि अलैँची एक पटक लगाएपछि वर्षौंसम्म उत्पादन दिने भएकाले धान रोप्ने खेतमा अलैँची लगाएको उनको भनाइ छ ।

लिम्बू र नेम्बाङ मात्र होइनन्, देशकै अलैँचीको हब मानिने इलामका अधिकांश किसानलाई यतिबेला अलैँची रोप्न भ्याइनभ्याइ छ । यतिबेला अलैँची रोप्ने मुख्य सिजन भएकाले किसानहरू यसैमा व्यस्त देखिन्छन् । खाली रहेको पाखाबारी एवं अन्नबाली हुने खेतबारीमा समेत अलैँची रोप्नमा किसानको दिनचर्या बित्ने गरेको छ ।

जिल्लाका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत अलैँची बनेको छ । पछिल्लो समय अलैँचीको मूल्य बढेसँगै यहाँका किसानहरू व्यावसायिक अलैँचीखेतीमा लागेका हुन् । पहिलेदेखि व्यावसायिक अलैँचीखेती गर्दै आएका किसानले खेती विस्तार गरेका छन् भने कतिपयले नयाँ खेती सुरु गरेका छन् ।

पहिलेदेखि अलैँचीको खेती गर्दै आएका माइजोगमाई गाउँपालिका–५ का किसान अर्जुन भण्डारीले यस वर्ष पनि अलैँचीखेती विस्तार गरेका छन् । खाली रहेको पाखाबारीमा अलैँची रोप्दै आएका भण्डारीले यस वर्ष धान फल्ने खेतमा समेत अलैँचीखेती विस्तार गरेका हुन् । विगतका दिन सम्झँदै उनले भने, ‘विगतमा पाखाबारीको बागानबाट वार्षिक १० मन अलैँची उत्पादन गर्दै आएको छु । यस वर्ष अझ खेती विस्तार गरेको छु ।’ तीन वर्षपछि उत्पादनमा थप वृद्धि हुने अपेक्षा उनले व्यक्त गरे ।

गत वर्ष मुख्य सिजनमा प्रतिमन (४० केजी) १ लाख १५ हजार रुपैयाँसम्म किनबेच भएको अलैँची यस वर्ष प्रतिमन १ लाख रुपैयाँमा किनबेच भइरहेकाले किसानहरू अलैँचीखेतीतर्फ आकर्षित भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) को बुझाइ छ । किसानको प्रयासबारे उनले भने, ‘आफ्नै जग्गामा आम्दानीमूलक नगदेबाली लगाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अलैँची किसानहरुबाट देखिन्छ ।’ प्रतिमन १ लाख रुपैयाँमा एउटा किसानले अलैँची बेच्नु चानचुने कुरा नभएको उनले बताए ।

इलामका गाउँमा अलैँचीखेती गर्ने किसानको संख्या बढ्दै गएको छ । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छाया पर्ने, भिरालो, कम गहिरो माटो भएको र कमसल जग्गामा समेत अलैँचीखेती गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर अलैँची रोपेका छन् । सामान्य स्तरबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रुपमा अलैँचीखेती विस्तार गर्न थालेका छन् । उत्पादन र मूल्य दुवै राम्रो हुँदै गएकाले किसानहरू अलैँचीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक अलैँचीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याका कारण अधिकांश किसानले व्यावसायिक अलैँची खेती सुरु गरेका छन् । बाँझो रहेका पाखा पखेरामा समेत खेती हुने भएपछि किसानहरूले यसबाट लाखौँ आम्दानी लिइरहेका छन् । उनीहरूले राम्रो खेतीयोग्य जमिन मासेर समेत व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । यहाँका किसानले रामशाही, गोलशाही, जिर्तले, भर्लाङ्गेलगायत जातका अलैँची खेती गर्दै आएका छन् ।

अलैँची किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहज रूपमा बिक्री गर्न पाउने वातावरण बनेको छ । घरघरमा गएर व्यापारीले अलैँची किन्ने गरेकाले किसानलाई बजारसम्म पुर्‍याउने झन्झट हटेको छ । यातायातको सुविधा विस्तार भएसँगै किसानले अलैँचीको मूल्य राम्रै पाउने गरेको माङसेबुङ गाउँपालिका–२ का किसान कैलाशकुमार राईले बताए । बजारको सहजताबारे उनले भने, ‘अलैँची बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरु घरघरमा आउने गरेका छन् ।’ पछिल्लो समय यातायातको सुविधा विस्तारसँगै व्यापारी र किसान दुवैलाई सहज भएको उनले बताए ।